च्याटजीपीटीमा नयाँ ‘लाइब्रेरी’ फीचर सार्वजनिक, फाइल व्यवस्थापन अब सहज
काठमाडौं । ओपन एआइले च्याटजीपीटी प्रयोगकर्ताका लागि नयाँ ‘लाइब्रेरी’ फीचर सार्वजनिक गरेको छ। यस फीचरले प्रयोगकर्ताले अपलोड गर्ने वा एआईमार्फत तयार पारिएका फाइलहरू व्यवस्थित रूपमा सुरक्षित राख्ने सुविधा दिनेछ।
पहिले च्याटजीपीटीमा काम गर्दा प्रयोगकर्ताले अपलोड गरेका फाइलहरू पुनः खोज्न पुराना च्याट स्क्रोल गर्नुपर्ने झन्झट थियो। तर नयाँ लाइब्रेरी प्रणाली लागू भएसँगै अब ती फाइलहरू छुट्टै ‘लाइब्रेरी’ सेक्सनमा स्वतः सेभ हुनेछन्, जसले खोज्न र पुनः प्रयोग गर्न सहज बनाउनेछ।
यो फीचरमार्फत प्रयोगकर्ताले फाइलहरूलाई नाम वा फाइल प्रकारका आधारमा सजिलै खोज्न सक्नेछन्। यद्यपि, एआईमार्फत सिर्जना गरिएका तस्बिरहरू भने अझै ‘इमेजेज’ ट्याबमै सीमित रहने जनाइएको छ।
हालका लागि लाइब्रेरी सुविधा केवल वेब संस्करणमा उपलब्ध रहेको छ। साथै, यो सुविधा सबै प्रयोगकर्ताका लागि खुला गरिएको छैन। ओपन एआइ का अनुसार यो सेवा च्याटजीपीटी प्लस, प्रो र बिजनेस प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको हो।
भौगोलिक रूपमा पनि केही सीमाहरू कायम गरिएको छ। युरोपियन इकोनोमिक एरिया, स्विट्जरल्यान्ड र युनाइटेड किङ्डममा भने यो फीचर हाल उपलब्ध छैन। अन्य अधिकांश क्षेत्रहरूमा भने क्रमिक रूपमा विस्तार भइरहेको छ।
प्रयोगकर्ताले लाइब्रेरीबाट फाइल थप्न वा हटाउन वेब एपको ‘कम्पोजर’ मेनु र ‘लाइब्रेरी’ ट्याब प्रयोग गर्न सक्नेछन्। नयाँ सुविधाले विशेष गरी परियोजनामा काम गर्ने प्रयोगकर्तालाई फाइल व्यवस्थापनमा ठूलो राहत दिने अपेक्षा गरिएको छ।
