ओली र लेखकमाथि जेनजी शहीद परिवारको जाहेरीका आधारमा अनुसन्धान, बयानका लागि परिसर झिकाउने तयारी
काठमाडौं।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोग गठनप्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले बुधबार बयानका लागि जिल्ला प्रहरी परिसरमा झिकाउने तयारी भएको छ ।
ओली-लेखकलाई पहिलोपटक हिरासतमा राख्नका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएकोमा उक्त म्याद पर्याप्त नहुने कारण पुनः म्याद थप गरेरै प्रहरीले परिसर झिकाएर अनुसन्धान गर्ने तयारी गरेकाे हाे ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडा खत्रीसमेतको जाहेरीले म्याद थप गरी ओली-लेखकलाई हिरासतमा राखिएको छ। साेही जाहेरीमा टेकेर अनुसन्धान भइरहेको छ । अहिले रसिककी आमा रचना खतिवडा रास्वपाबाट समानुपातिक सांसद छिन् ।
पक्राउपछि एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका छन् भने लेखक नेपाल प्रहरीको नम्बर २ गण सामाखुशीमा राखिएको छ । ओली-लेखक विरुद्धको मुद्दाको अनुसन्धान र अभियोजन भने जिल्ला प्रहरी परिसर, भद्रकालीले गरिरहेको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, बुधबार बयानका लागि ओली र लेखकलाई परिसरमा उपस्थित गराउने तयारी भइरहेको छ। साथै, प्रहरीले नेपाल सरकारका सहसचिव तथा उक्त घटनामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का जिम्मेवारीमा रहेका छविलाल रिजालाई मंगलबार पक्राउ गरेको छ, तर उनको बयान बुधबार लिन नहुने भएको छ।
एमाले अध्यक्ष ओलीको स्वास्थ्य स्थितिका कारण बुधबार बयान नहुन सक्ने र आवश्यकता भएमा अर्को दिन बयान लिन सकिने छ। स्वास्थ्य जटिल भएकाले ओली म्याद थपका लागि स्वयं उपस्थित हुन नसक्दा प्रक्रिया भिडियो कन्फरेन्समार्फत सम्पन्न गरिएको थियो। यदि बयान दिन स्वयं उपस्थित हुन नसके, अर्को उपयुक्त दिन बयान लिन सकिने व्यवस्था गरिएको छ। बुधबार दुबैको बयान लिन सकेमा बिहीबार म्याद थप गरिने एसपी भट्टराईले बताएका छन् ।
उनले भने,’जिल्ला अदालतले म्याद थपका क्रममा बयान कागजसँगै बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागज र प्रतिवेदनको अध्ययन विश्लेषणलगायतको प्रयोजनका लागि ५ दिनको म्याद थप गरेको थियो । जिल्ला प्रहरी प्रवक्ता भट्टराईले फेरि म्याद थपका लागि जिल्ला अदालतमा माग गरिने छ।’
कार्की आयोगको प्रतिवेदनले गरेको सिफारिसका आधारमा शनिबार बिहान उनीहरू पक्राउ परेका थिए । प्रतिवेदनले ज्यान मुद्दामा कारबाही सिफारिस गरेको छ । उक्त कसुरमा ३ देखि १० वर्षसम्म सजायको प्रावधान रहेको छ ।
