`

आफ्ना समानुपातिक उम्मेदवारको नाम हटाइएको पूर्णबहादुरको दाबी

Nepal One HD १७ चैत २०८२ १६:२७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले पार्टीको संस्थापन समूहले नियमविपरीत काम गरेको आरोप लगाएका छन्। काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा आफ्ना समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै उनले समानुपातिक सांसद छनोटमा अनियमितता भएको ब्रिफिङ गरेका हुन्।

उनका अनुसार विशेष महाधिवेशनबाट आएको नेतृत्वले प्रक्रियाविपरीत निर्णय गरेको छ। ‘समानुपातिकमा पिछडिएको क्षेत्रअन्तर्गत एक नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर, सो क्लस्टरमै नाम नभएका खस आर्य पुरुष कोटाका सातौँ नम्बरमा रहेका कालीबहादुर सहकारीलाई राखिएको छ,’ उनले बैठकमा भने, “यस विषयमा हाम्रा उम्मेदवारहरू अदालत गइसकेका छन्।’

खड्काले दलित कोटाबाट समानुपातिक सूचीमा परेका मानबहादुर नेपाली पनि न्यायको खोजीमा अदालत पुगेको जानकारी दिए। ‘दलित कोटाका मानबहादुर नेपाली पनि अदालत जानुभएको छ,’ उनले बताए।

पार्टीका तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्रको विवाद झन् चर्किएको छ। अहिले उक्त समूहविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूह एकजुट भएका छन्।

उनीहरूले निरन्तर संयुक्त छलफल गरिरहेका छन्। यता पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसे ले भने छुट्टै भेला गरिरहेको यस समूहलाई पार्टी अनुशासन पालना गर्न चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *