`

दलित समुदाय र आमा दिदीबहिनीसँग रविले मागे माफी

रवि लामिछाने १९ चैत २०८२ १८:५५
अन्तर्वार्ता/बिचार

सम्माननीय सभामुख महोदय,

जनताबाट अनुमोदित भएर आउनुभएका सम्पूर्ण माननीय सदस्यहरूलाई यो सम्मानित सदनमा हार्दिक स्वागत गर्न चाहन्छु । यो संसद् राष्ट्र निर्माणका शहीदहरूदेखि जेन–जेन शहीदसम्मका बलिदानको सन्तान हो । म ती सम्पूर्ण शहीदहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाइको मतादेश दिनुभएको छ । उहाँहरूलाई जनतालाई आभार मात्र प्रकट गर्दिनँ । मैले यो रोस्टमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको भार हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं । यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ । मलाई थाहा छ, हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो र गर्वका साथ भन्न सक्छु, म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।

सभामुख महोदय,

सत्तारूढ दलको सभापतिको रूपमा अब हामीले बोलेर मात्र पुग्दैन । मैले मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफैँ अत्यन्त राम्रोसँग बोल्नेछन् । यदि बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु ।

सभामुख महोदय,

हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन भनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं । तपाईंहरूले सरकारको रफ्तार देखिरहनुभएको छ । अब कर्मचारीतन्त्रसहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन । हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि सम्मान पुर्‍याउन तयार भएर आएका छौं र यसको सार्वजनिक घोषणा हामीले गरिसकेका छौं ।

सभामुख महोदय,
सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्रीज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्माननीय सदनलाई जानकारी गराउनेछु र म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु ।

सभामुख महोदय,

यो सम्मानित संसदमा यसअघि पनि पटक–पटक एकल बहुमतका सरकार नबनेका होइनन् । तर ती सरकारहरू इतिहासका अंक बने, इतिहास बदल्ने औजार बन्न सकेनन् । किन सकेनन् ? दृष्टिकोणमा समस्या थियो कि, प्राथमिकतामा पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा ? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन ? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं । जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमाएको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरिए होला तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ । अब साबित गर्नुछ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ । समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ । प्रतिपक्ष दलहरूलाई मेरो खुलमखुला आग्रह छ, हामीलाई चौबिसै घण्टा निगरानी गरिदिनुहोला । साथै, म तपाईंहरूलाई केलाउनै लगाउँछु, हाम्रा कमजोरी उजागर गरिदिनुहोला, गल्ती देखाइदिनुहोला । यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला । हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फी नहोउन् । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन् । एकले काम गर्छ, अर्काेले निगरानी गर्छ ।

हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं । किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ र हामीले अस्ति भर्खरै देखिसकेका छौं । यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ र अध्यादेशसमेत ल्याइएको छ । त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्चाउने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । प्रतिपक्षमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुने छैन । अब कसैको माइक काटिने छैन । सँगसँगै समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन । तर सुशासनको बेग भने रोकिने छैन । न्याय पाउने पहिलो हकसहित न्याय । यो सरकार जनयुद्धको पनि सन्तान हो ।

संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वेच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनुहुन म अपिल गर्न चाहन्छु ।सरकार रणनीति, कानुन, वादविवाद र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ ।हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्गप्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु।

सभामुख महोदय,

छिमेकी राष्ट्र र विभन्न राष्ट्रहरुसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैरजिम्मेवार र सस्तो खेल अब हुने छैन । प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौं । यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ । व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधिमैत्री हुनेछ । यसले पहिलो राष्ट्र हित र त्यो सँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ । स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोष्टमबाट मेरो अपिल छ । अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ । किनकि राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्दछौं । प्राकृतिक स्रोत, युवा जनशक्तिको विदेशमा अभाव छैन ।

म गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपिल गर्दछु । नेपालमा केही गरौं । तपाईं नेपालको आर्थिक विकासमा जोडिनुहोस् । हामी एक पटकको नेपाली, सदैवको नेपालीको बाचा पूरा गरेरै छाड्छौं । नेपालको विकाससँग तपाईंको बुद्धि, सीप, अनुशासन र आधुनिक सोचलाई जोड्न जे गर्नुपर्छ, हामी त्यही गर्छौँ र जसरी पनि गर्छौँ । तपाईंहरूको लगानी सुनिश्चित गर्ने छौं । तपाईंहरूको सम्मान सुनिश्चित गर्नेछौं । देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु । बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार्न सुरू गरिसकेका छौं । नीतिहरू अब बजारमा बेच्ने छैनन् । निर्णयहरू कसैको दवावमा बन्ने छैनन् । व्यावसायिक क्षेत्रमा तपाईंहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दवाव सबैका लागि नै समाप्त हुनेछ । बिचौलिया र माफिया अब रहने छैनन् । समान अवसर, पारदर्शिता, निष्पक्षता र व्यवसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौं, सरकारले लिन्छ ।

म एउटा प्रसंग राख्न चाहन्छु, सभामुख महोदय ।

मेरा मित्र, माननीय खगेन्द्र सुनुवार निर्वाचित भएर यहाँ आउनु भएको छ । चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा खासै उहाँले गल्ती गर्नुभयो, गर्नु भएन । तर उहाँले माफी माग्नुभयो । सिधै माफी माग्नुभयो । भन्नुभयो, ‘मबाट त्यस्तो गल्ती भयो जस्तो मलाई लाग्दैन तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो । म आज सिंगो सदनबाट सिंगो देशलाई भन्न चाहन्छु, गल्ती गरे हो कि होइन भन्दा अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे, खगेन्द्र सुनारहरूमाथि युगौँयुगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौं । देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ । यो सरकार शताब्दीऔं देखिको विभेदको, अन्यायको, अत्याचारको इतिहासमा पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट । आजसम्मको विभेद सामाजिक कलङ्कित थियो र संगठित अपराध थियो । यो देश किन बनेन थाहा छ ? किनकि जसको हातमा सीप थियो, तिनलाई हामीले अछूत मान्दियौं । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारको तर्फबाट पनि माफी माग्छु र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु ।

यो रोष्टमबाट मैले आमा र दिदीबहिनीहरुलाई पनि केही भन्नु छ । विदेशमा तपाईंहरूले सबैलाई धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो । घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनुभयो, तर त्यसलाई काम मानिएन । महिलालाई अवसर अब अनुग्रह होइन, अधिकार हुनेछ । हामी सुनिश्चित गर्नेछौं । शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व, कर्मस्थल र समाजमा सुरक्षा र सम्मान, अनि महिला विरुद्धका हिंसामा शून्य सहनशीलता । कुनै छोराछोरीले स्वीट्जरल्यान्ड अब सपना बनाउनुपर्ने छैन । अबको यात्रा केवल समानताको हैन, सशक्तीकरणको हुनेछ । सँगै ज्येष्ठ नागरिकहरूको आर्थिक सुरक्षा, सामाजिक कल्याण र आत्मसम्मान पनि हाम्रो कर्तव्य हुनेछ ।

आजको संसदको जनादेशका वास्तविक रचयिता हुनुहुन्छ, वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू । विदेशमा आजसम्म सबै तपाईंहरूले पठाएको रेमिटेन्सको कुरा भयो । तर आज म पैसाको हैन, तपाईंहरूले तिर्नुभएको व्यक्तिगत मूल्यको कुरा गर्छु । परिवारबाट अलगिनुभयो, आमाबुवाको साथ गुमाउनुभयो । कतिले छोराछोरीको बाल्यकाल गुमाउनुभयो । चाडपर्वको रमाइलो, परिवारको माया, आफ्नो गाउँघरको न्यानोपन गुमाउनुभयो । कतिले आमाबुवाको मृत्युमा काँध थाप्न पाउनुभएन । कतिले सन्तानको पहिलो पाइला देख्न पाउनुभएन । आज म उहाँहरूबाट क्षमायाचनाका साथ स्वीकार गर्छु, विदेशले तपाईंहरूको त्यागको उचित सम्मान गरेन । अब तपाईंहरूको पीडा केवल कथा बन्ने छैन, नीति बन्नेछ, राज्यको प्राथमिकता बन्नेछ । बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन् । अबको न्यूनतम कार्यक्रम र बजेट तपाईंहरूको हुनेछ । खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरू बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन् । मेरा युवा साथीहरूलाई विशेष अपिल गर्नु छ । यो परिवर्तन पनि तपाईंहरूको हो । यो सरकार पनि तपाईंहरूको हो । यो संसद पनि तपाईंहरूको हो । संघर्ष तपाईंहरूको आवाज र तपाईंहरूको विश्वासको परिणाम हो यो संसद् । तपाईंहरूलाई दक्ष र आत्मनिर्भर बनाउन, रोजगारी र उद्यमशीलतासँग जोड्न, नवप्रवर्तन र नेतृत्वका अवसरहरू पैदा गर्न सरकार प्रतिबद्ध छ । माननीय सांसदज्यूहरू, जहिलेसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौं । त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ । देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण गर्नुछ । मलाई विश्वास छ, यो सहकार्य, उत्तरदायित्व र परिवर्तनको प्रतीक हुनेछ ।

(प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति रवि लामिछानेले गरेको सम्बोधनको पूर्णपाठ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *