गुगलद्वारा इन्ड-टु-इन्ड इन्क्रिप्सन सुविधा विस्तार
काठमाडाैं। गुगलले आफ्नो इमेल सेवा जिमेलका लागि इन्ड–टु–इन्ड इन्क्रिप्सन (E2EE) सुविधा अब एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको घोषणा गरेको छ। यससँगै, वर्कस्पेस प्रयोगकर्ताहरूले अब इमेलभित्रै उच्चस्तरीय सुरक्षा आवश्यक पर्ने सन्देशहरू तयार गर्न र पढ्न सक्ने भएका छन्, जसका लागि थप एप वा छुट्टै पोर्टलको आवश्यकता पर्दैन।
यो सुविधा गुगलको क्लाइन्ट-साइड इन्क्रिप्सन प्रविधिको विस्तार हो, जुन करिब एक वर्षअघि जिमेलको वेब संस्करणमा सुरु गरिएको थियो। गुगलका अनुसार, इन्क्रिप्टेड इमेल प्राप्त गर्ने व्यक्तिले जिमेल एप प्रयोग गरिरहेको भए ती सन्देशहरू सामान्य इमेलसरह इनबक्समै देखिनेछन्। जिमेल प्रयोग नगर्ने व्यक्तिले पनि ब्राउजरमार्फत सुरक्षित रूपमा इमेल पढ्न र जवाफ दिन सक्नेछन्, जसका लागि इमेल ठेगाना फरक हुनु कुनै समस्या हुँदैन।
कम्पनीका अनुसार यो नयाँ सुविधाले प्रयोगकर्तालाई उच्च स्तरको गोपनीयता र डेटा सुरक्षाको अनुभव सहज बनाउनेछ। विशेषगरी साना व्यवसाय, ठूला उद्यम तथा सार्वजनिक क्षेत्रका संस्थाहरूलाई सुरक्षित इमेल सेवा प्रयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, हालका लागि यो सुविधा इन्टरप्राइज प्लस सदस्यहरूमा मात्र सीमित गरिएको छ, जसका कारण सामान्य जिमेल प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न पाएका छैनन्।
मोबाइलमा यो सुविधा प्रयोग गर्नुअघि प्रशासकले एडमिन कन्सोलमार्फत क्लाइन्ट-साइड इन्क्रिप्सन सक्षम गर्नुपर्ने हुन्छ। त्यसपछि प्रयोगकर्ताले इमेल पठाउँदा देखिने ‘लक’ आइकनमा क्लिक गरी अतिरिक्त इन्क्रिप्सन चयन गर्न सक्छन्। आवश्यक अनुसार इमेलमा फाइल एट्याचमेन्ट पनि सुरक्षित रूपमा समावेश गर्न सकिन्छ।
गुगलले जनाएको अनुसार, इन्ड-टु-इन्ड इन्क्रिप्सन सुविधा र्यापिड रिलिज डोमेनहरूमा तुरुन्तै उपलब्ध हुनेछ। साथै, यसका लागि इन्टरप्राइज प्लस एड-अन आवश्यक पर्नेछ, जसले संवेदनशील डेटा व्यवस्थापन गर्ने संस्था तथा व्यवसायलाई थप सुरक्षा र कम्प्लायन्ससम्बन्धी उपकरणहरू उपलब्ध गराउनेछ।
