आर्मीले जित्यो तेस्रोपटक प्रधानमन्त्री कपको उपाधी
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रोपटक जितेको छ।
शुक्रबार सम्पन्न फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको हो। यसअघि आर्मीले २०१७ र २०२१ मा पनि उपाधि जितेको थियो।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। आर्मीको जितमा इम्रान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रनको योगदान दिए। यी दुईले महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।
आर्मीका लागि तृतराज दासले ३१ र कुशल मल्लले १७ रन जोडे। सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने विकास आग्री, शेर मल्ल र आशोक धामीले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै समेटिएको थियो। अशोक धामीले ४३ र किरण ठगुन्नाले ३५ रन बनाए। आर्मीका आकाश चन्द र साहब आलमले तीन-तीन विकेट लिए।
