कांग्रेस विवाद : संस्थापन एकढिक्का, खड्का र कोइराला पक्षको छुट्टाछुट्टै बैठक
काठमाडाैं। नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षीय नेताहरूको बैठकमा शेखर कोइराला समूह सहभागी भएकाे छैन।
खड्काले पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरू सहितकाे बैठक ४ बजेदेखि उनकाे निजी निवासमा बसिरहेकाे छ। बैठकको मुख्य उद्देश्य हालको राजनीतिक परिस्थिति, सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि उत्पन्न अवस्थाको समीक्षा र आगामी रणनीति तय गर्नु रहेको बताइएको छ।
तर, बैठकमा प्रमुख समूहमध्ये एक मानिने शेखर कोइराला पक्ष सहभागी नहुने स्पष्ट भएको छ। यसले पार्टीभित्रको आन्तरिक विभाजन अझ गहिरिँदै गएको संकेत दिएको छ। केही दिनअघि मात्र एउटै मञ्चमा देखिने देउवा र शेखर समूहबीचको दूरी अहिले फेरि स्पष्ट रूपमा देखिन थालेको छ।
सर्वोच्च अदालतको निर्णयपछि पार्टी संरचनामा आएको परिवर्तनले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बनिरहेको छ।
शुक्रबार सर्वोच्च अदालतले गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिने फैसला गरेको थियो। फैसलापछि माघ २७-२९ सम्म भएको कांग्रेसको विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरु अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा जुटिरहेका छन्। सोही क्रममा खड्काले आजलाई बैठक बोलाएका थिए।
कांग्रेस भित्र नेताहरूबीचका छुट्टाछुट्टै परामर्श र छुट्टाछुट्टै छलफलहरू तीव्र बनेका छन्। यसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई निकै पेचिलो बनाएको देखिन्छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाका सन्दर्भमा र आगामी कार्यदिशाको बारेमा छलफल गर्ने शेखर समूहले पनि आजै छुट्टै बैठक बोलाएको छ।
उक्त समूहको बैठकको आह्वान नेता धनराज गुरुङले गरेका हुन्। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको मूल्याङ्कन, संगठनभित्रको भूमिकाबारे छलफल र आगामी रणनीति तय गर्ने विषयमा केन्द्रित हुने बताइएको छ।
कांग्रेसभित्र अहिले देखिएको गतिविधि विवाद सामान्य असहमति मात्र नभई भविष्यको नेतृत्व र शक्ति सन्तुलनसँग सम्बन्धित छ। सर्वोच्च अदालतको आदेशपछि पार्टी संरचना र वैधानिकताको विषयले पनि आन्तरिक प्रतिस्पर्धालाई थप चर्काएको छ।
देउवा पक्षीय नेताहरू भने पार्टी एकता र संगठन सुदृढीकरणको पक्षमा उभिँदै आएका छन्। उनीहरूका अनुसार वर्तमान अवस्थामा विभाजन होइन, समन्वय र सहकार्य आवश्यक छ। तर शेखर समूहले भने आफ्नो राजनीतिक अडान र संगठनात्मक भूमिकालाई अलग ढंगले अघि बढाउने संकेत दिँदै आएको छ।
दुई पक्ष छुट्टाछुट्टै बैठकमा केन्द्रित भएपछि कांग्रेसभित्रको आन्तरिक दूरी झन् स्पष्ट देखिन थालेको छ। एउटै पार्टीभित्र फरक फरक रणनीतिक बैठकहरू हुनुले आगामी दिनमा कांग्रेसको राजनीतिक दिशा अझ जटिल बन्न सक्ने देखिन्छ।
यो विवादलाई मथ्थर पार्न कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई समन्वय गर्ने जिम्मा दिएको छ। सर्वोच्चले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेपछि उनीमाथि यो जिम्मेवारी अझै बढेर गएको छ। उनीमाथि विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्ष र शेखर पक्षलाई मिलाएर लैजाने ठुलो कार्यभार छ। त्यो गगनले कसरी गर्लान् ? हेर्न भने बाँकि नै छ।
तर पछिल्ला दिनमा विकसित घटनाक्रमले कांग्रेसको आन्तरिक एकता कति टिकाउ छ भन्ने प्रश्न एकपटक फेरि उजागर गरेको छ ।
