भारतमा विश्वकप फुटबल हेर्न नपाइने,कारण यस्तो ?
एजेन्सी। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ का खेल भारतमा हेर्न नपाइने सम्भावना बढेको छ। विश्वकप जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदैछ।
ब्रोडकास्टिङ अधिकार खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतमा प्रसारण अनिश्चित बनेको हो। फिफाले ब्रोडकास्टिङ अधिकारको मूल्य ६५ प्रतिशतसम्म घटाएर ३५ मिलियन अमेरिकी डलरमा झारे पनि हालसम्म कुनै सम्झौता भएको छैन।
यसअघि सन् २०२२ को कतार विश्वकपका लागि भारतीय कम्पनीले करिब ६२ मिलियन डलर खर्च गरेको थियो। तर यसपटक विज्ञापन बजारको संकुचन, रियल मनी गेमिङमाथिको प्रतिबन्ध र व्यापारिक अनिश्चितताका कारण चासो घटेको बताइएको छ।
भारतमा खेलहरू राति १२ बजेदेखि बिहान ७ बजेसम्म हुने भएकाले दर्शक सहभागिता कम हुने अनुमान पनि गरिएको छ। स्टार इन्डिया र भायकम-१८ मर्जर भएर बनेको जियोस्टारले सीमित रकम खर्च गर्न सक्ने देखिए पनि फिफाको मूल्य निर्धारणका कारण सम्झौता हुन सकेको छैन।
यदि स्थिति यस्तै रहेमा फिफाले आफ्नै डिजिटल प्लेटफर्ममार्फत विश्वकप खेलको लाइभ स्ट्रिमिङ गर्नुपर्ने अवस्था आउन सक्ने चर्चा समेत सुरु भएको छ।
