‘किम जोङ’को मिसाइल परिक्षणले ‘ली जे’को दुख्यो टाउको
एजेन्सी। उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव पुनः चुलिएको छ। केही दिनअघि संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले उत्तर कोरियाले आणविक हतियार विकासमा ‘गम्भीर प्रगति’ गरेको चेतावनी दिएको पृष्ठभूमिमा यो घटना भएको हो।
दक्षिण कोरियाली सेनाका अनुसार सिन्पो क्षेत्रबाट प्रक्षेपण गरिएका मिसाइलहरू करिब १४० किलोमिटर टाढा पूर्वी समुद्रमा खसेका थिए। घटनापछि दक्षिण कोरियाले सम्भावित उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको जनाउँदै अमेरिका र जापानसँग समन्वय बढाएको छ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आकस्मिक बैठक गर्दै उत्तर कोरियाका बारम्बारका क्षेप्यास्त्र परीक्षणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यो प्रक्षेपण राष्ट्रपति ली जे म्युङ विदेश भ्रमणमा निस्कनुअघि भएकोले समयलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
अमेरिका र जापानले पनि मिसाइल प्रक्षेपणको पुष्टि गर्दै यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय शान्तिलाई खतरा पुर्याएको बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भएको भन्दै जापानले कडा विरोध जनाएको छ।
विश्लेषकहरूका अनुसार यदि यो प्रक्षेपण पनडुब्बीबाट गरिएको हो भने चार वर्षपछि उत्तर कोरियाको पहिलो पनडुब्बी-आधारित ब्यालेस्टिक मिसाइल परीक्षण हुनेछ। यसले क्षेत्रीय सुरक्षा चुनौती थप जटिल बनाउने अनुमान गरिएको छ।
उत्तर कोरियाले पछिल्ला वर्षहरूमा आफ्नो हतियार र आणविक कार्यक्रम तीव्र रूपमा विस्तार गर्दै आएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोङ उन नेतृत्वले सैन्य क्षमता विस्तारमा जोड दिँदै आएका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि उत्तर कोरियामा आणविक गतिविधि तीव्र रूपमा बढिरहेको पुष्टि गरेको छ, जसले यस क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनाएको छ।
