नेपाल र यूएई आमनेसामने हुँदै
काठमाडौं। नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ। नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।
नेपालले पहिलोपटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली टोलीका लागि यो ऐतिहासिक अवसर मानिएको छ।
आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल भने आजको खेलमा उपलब्ध छैनन् र टोलीमा समावेश गरिएको छैन। त्यसैले दीपेन्द्रका लागि जितसँगै सिरिजको सुरुवात गर्ने चुनौती रहेको छ।
नेपाल र यूएईबीच प्रतिस्पर्धा सधैं रोचक रहने गरेको छ। टी-२० अन्तर्राष्ट्रियमा दुवै टोलीबीच हालसम्म ११ खेल भएका छन्, जसमा नेपालले ६ खेल जितेको छ भने यूएई ५ खेलमा विजयी भएको छ। कीर्तिपुरमा भएको एकमात्र खेलमा भने यूएईले जित हासिल गरेको थियो।
नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।
