`

मन्त्रीपरिषद बैठक : यस्ता छन् आजका निर्णय (भिडियो)

Nepal One HD ८ वैशाख २०८३ १७:१७
प्रमुख खबर

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन् । समितिले बोर्डको नेतृत्वका लागि उपयुक्त उम्मेदवारहरूको नाम छनोट गरी सरकारलाई सिफारिस गर्नेछ ।

यसैगरी मन्त्रिपरिषद्ले कानुनी र प्रशासनिक सुधारका लागि विभिन्न विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ संशोधनसम्बन्धी विधेयकहरू सदनमा दर्ता गर्न अनुमति प्रदान गरिएको हो ।

यी संशोधनहरूले आगामी निर्वाचन प्रक्रिया तथा विशेष सेवाका कामकारबाहीलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका रिक्त पदहरूमा पनि नियुक्ति गरेको छ । समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य नियुक्त भएका छन् भने सदस्यहरूमा धादिङका नवराज ढुंगाना र ललितपुरका रोशनबहादुर शाक्य मनोनयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *