लगनखेल पुर्याइयो मत्स्येन्द्रनाथको रथ(तस्बिरहरु)
ललितपुर। ललितपुरमा जारी रातो मत्स्येन्द्रनाथ रथयात्रा अन्तर्गत रथलाई मंगलबार तानेर लगनखेल पुर्याइएको छ। शहरका विभिन्न भाग परिक्रमा गराउँदै रथलाई लगनखेल ल्याइएको हो।
रथयात्राको महत्त्वपूर्ण चरण मानिने ‘रथ पूजा’ का लागि लगनखेल क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो। रथमा पूजाअर्चना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण यहाँ जम्मा भएका थिए।
रातो मत्स्येन्द्रनाथ लाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ। काठमाडौं उपत्यकाको सांस्कृतिक जीवनमा यस रथयात्राको विशेष स्थान रहेको छ।
किंवदन्तीअनुसार परापूर्वकालमा काठमाडौं उपत्यका मा भीषण खडेरी परेपछि भक्तपुरका राजा नरेन्द्रदेव र कान्तिपुरका तान्त्रिक वन्धुदत्त ले भारतको कामरूप कामाख्या बाट मत्स्येन्द्रनाथलाई ल्याएका थिए। उनको आगमनपछि उपत्यकामा वर्षा भएको र खडेरी हटेको विश्वास गरिन्छ। त्यसैले यो रथयात्रालाई वर्षा र सहकालको पर्वका रूपमा मनाइन्छ।
लगनखेलमा हुने रथ पूजाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व पनि विशेष छ। यहाँ रथ पुगेपछि गरिने पूजा तथा चार नारायण मन्दिर सँग जोडिएको परम्पराले प्राचीन धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई झल्काउँछ।
यो उत्सव धार्मिक आस्थामा मात्र सीमित नभई ललितपुरवासीहरूका लागि सामाजिक एकताको प्रतीकका रूपमा समेत स्थापित भएको छ।
यसअघि सोमबार राति लगनखेलमा रथसँग सम्बन्धित परम्पराअनुसार राँगा, बोका तथा हाँसको अण्डाको बलीसमेत दिइएको थियो।






