अध्यादेश रोक्न विपक्षी दलको दबाब, आङ्देम्बेले भेटे राष्ट्रपति(भिडियो)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार शीतल निवास पुगेर आङ्देम्बेले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्न विपक्षी दलहरूको तर्फबाट राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्।
भेटका क्रममा उनले सरकारद्वारा ल्याउन खोजिएको विवादित अध्यादेशबारे विपक्षी दलहरूको साझा निर्णय राष्ट्रपतिलाई जानकारी गराएका थिए। संसद् छलेर अध्यादेशमार्फत निर्णय अघि बढाउन खोजिएको भन्दै विपक्षी दलहरूले त्यसलाई रोक्नुपर्ने धारणा राखेका छन्। संसद् अधिवेशन बोलाउने समयमा अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्यासविपरीत भएको भन्दै आङ्देम्बेले विपक्षी गठबन्धनको सन्देश शीतल निवासमा पुर्याएका हुन्।
यसअघि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो। उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू सहभागी थिए।
बैठकले सरकारले सिफारिस गरेको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने र छिटोभन्दा छिटो संघीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो। सोही संयुक्त निर्णयअनुसार विपक्षी दलहरूको धारणा लिएर आङ्देम्बे राष्ट्रपति कार्यालय पुगेका हुन्।
विपक्षी दलहरूले सरकारले संसद् अधिवेशन ढिलाइ गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आएका छन्। संसद् निष्क्रिय रहेको अवस्थामा संवैधानिक नियुक्तिहरूमा अनुकूल निर्णय गराउन सरकारले अध्यादेशको बाटो रोजेको उनीहरूको दाबी छ।
