`

बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम र राजेन्द्रलाई

Nepal One HD २० वैशाख २०८३ २०:४५
खेलकुद

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम जोहरा र राजेन्द्र बमको जोडीले जितेको छ ।महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राम र राजेन्द्रको जोडीले भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै रु ४४ हजार ४४४ नगद, ट्रफीसहित उपाधि जितेको हो । उपविजेता बनेको भोजराज र गणेशको जोडीले रु २२ हजार २२२ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो भएको कमलसिंह भाट र विवेक ऐरको जोडी तथा जीवन खड्का र अमित शाहको जोडीलाई रु ११ हजार १११, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

त्यसैगरी प्रतियोगितामा भेट्रानतर्फ भोजराज भट्ट र वीरेन्द्रसिंह विष्टको जोडीले उपाधी जित्यो । आज भएको फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले रु १५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता बनेको कार्की र श्रेष्ठको जोडीलाई रु ७ हजार ५५५, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा तेस्रो हुने प्रेम चन्द र पदम ठकुराठी तथा सुरेन्द्रप्रसाद भट्ट र ईश्वरीदत्त भट्टको जोडीलाई रु ५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको समापन समारोहमा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरे ।

पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगितामा ‘बी’ लेभलतर्फ ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबवहादुर सिंहले जानकारी दिए । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *