`

ओमानलाई नेपालले दियो २५७ रनको लक्ष्य

Nepal One HD २२ वैशाख २०८३ १३:५१
खेलकुद

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानलाई नेपालले २५७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल बाँकी छँदै २५६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रन जोडे। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे, तर शतक बनाउन ६ रनले चुके।

अर्का ओपनर विनोद भण्डारी भने खाता नै नखोली डकआउट भए।
तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ८७ बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाए, अर्धशतकबाट २ रनले चुके।

कप्तान रोहितकुमार पौडेलले १६ बलमा ९ रन जोडे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन योगदान दिए।
गुल्सन झा १७ रनमा आउट भए।

अन्त्यतिर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा १ चौका र ४ छक्का सहित ४३ रन बनाए। उनी अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि आउट भएका थिए।

अन्यतर्फ करण केसी ० रन, नन्दन यादव २ रन र सन्दीप लामिछाने १ रनमा आउट भए।

ओमानका नदीम खानले ३ विकेट लिँदा, सकील अहमद र हसनइन शाहले २–२ विकेट लिए।

यो श्रृंखलामा नेपालले यसअघि युएईलाई दुवै खेलमा पराजित गरेको थियो। तर ओमानसँगको पहिलो भिडन्तमा भने नेपाल पराजित भएको थियो।

अंक तालिकामा ओमान २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ।
सातौं स्थानको नेपालले २३ खेलबाट १६ अंक जोडेको छ भने पुछारमा रहेका युएईका २४ खेलबाट १४ अंक छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *