`

आर्सनल दुई दशकपछि च्याम्पियन्स लिग फाइनलमा, साका बने नायक

Nepal One HD २३ वैशाख २०८३ १२:१६
खेलकुद

लन्डन । आर्सनल दुई दशक लामो प्रतीक्षा तोड्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले ऐतिहासिक उपलब्धि हात पारेको हो।

एमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा बुकायो साका नायक बने। पहिलो हाफको अन्त्यतिर लियान्द्रो ट्रोसार्डको प्रहार गोलकिपर जान ओब्लाकले रोके पनि रिबाउन्डमा आएको बललाई साकाले पोस्टको दिशा दिएका थिए। यही गोलले आर्सनललाई समग्रमा २–१ को जित दिलायो।

आर्सनलको जितमा उसको बलियो रक्षापंक्तिले पनि महत्वपूर्ण भूमिका खेलेको छ। यस सिजन नकआउट चरणमा घरेलु मैदानमा उसले कुनै गोल नखाएको तथ्य उल्लेखनीय छ। खेलको ५१औँ मिनेटमा एथ्लेटिकोका जुलियानो सिमओनीले गोल गर्ने अवसर पाए पनि डिफेन्डर ग्याब्रियलको उत्कृष्ट हस्तक्षेपले रोकिएको थियो।

सन् २००६ पछि पहिलो पटक फाइनल पुगेको आर्सनलका लागि यो सिजन ऐतिहासिक बन्ने सम्भावना देखिएको छ। क्लब च्याम्पियन्स लिग उपाधिबाट एक जित टाढा मात्र छ भने प्रिमियर लिगमा पनि उपाधि दौडमा बलियो अवस्थामा रहेको छ।

आर्सनलले अब मे ३० मा बुडापेस्टमा हुने फाइनलमा पेरिस सेन्ट जर्मेन वा बायर्न म्युनिख मध्ये एकको सामना गर्नेछ। यी दुईबीचको सेमिफाइनलमा पहिलो लेगमा पीएसजी ५–४ ले अगाडि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *