१ लाख पुरस्कार राशीको आरआर स्ववियु प्रिमियर लिग हुँदै
काठमाडौं। विद्यार्थी एकता दिवसको अवसरमा ‘आरआर स्ववियु प्रिमियर लिग २०२६’ नामक अन्तरक्याम्पस टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगिता त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुनेछ।
‘त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यो प्रतियोगिता अन्तरकलेज स्तरको प्रतिस्पर्धात्मक क्रिकेट इभेन्टका रूपमा प्रस्तुत गरिनेछ,’ स्ववियु आरआरका सभापति लोकेश खड्काले भने।
आयोजकका अनुसार प्रतियोगितामा कलेजस्तरीय टिमहरूबीच टि-२० प्रारूपमा प्रतिस्पर्धा हुनेछ। खड्काले अगाडि भने ‘वन ग्याम, वन स्प्रिट, वन च्याम्पियन भन्ने नाराका साथ खेल सञ्चालन गरिनेछ।’
प्रतियोगिताको विजेताले रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार प्राप्त गर्नेछ। त्यस्तै, ‘म्यान अफ द सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’ जस्ता विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ।
आयोजकले प्रतियोगिताको दर्ता शुल्क रु. १० हजार तोकेको छ। प्रतियोगितालाई क्याम्पसका विद्यार्थीबीच खेलकुद भावना, प्रतिस्पर्धा र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।
