निर्यातले धानेको चीनको कार बजार
हङकङ। चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन् ।यही रणनीतिक विस्तारको प्रभावस्वरूप अप्रिल महिनामा चीनको यात्रुवाहक कार निर्यात करिब ८५ प्रतिशतले उकालो लागेको छ । विशेषगरी विद्युतीय तथा नयाँ ऊर्जा सवारीसाधनको माग विश्व बजारमा तीव्र रूपमा बढ्दा चिनियाँ अटो उद्योगले निर्यातमार्फत नयाँ गति समातेको देखिएको छ ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अप्रिलमा चीनबाट करिब सात लाख ९६ हजार यात्रुवाहक सवारीसाधन निर्यात भएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झन्डै ८५ प्रतिशत बढी हो । मार्च महिनामा निर्यात भएका सात लाख ४८ हजार सवारीसाधनको तुलनामा पनि अप्रिलको निर्यात उच्च रहेको तथ्याङ्कले देखाएको छ ।
नयाँ ऊर्जा सवारीसाधनतर्फ अझ तीव्र वृद्धि देखिएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय गाडी र प्लग–इन हाइब्रिडसहितका नयाँ ऊर्जा यात्रुवाहक सवारीको निर्यात अप्रिलमा १२० प्रतिशतभन्दा बढीले बढेर करिब चार लाख २० हजार युनिट पुगेको छ । विश्व बजारमा पेट्रोलियम इन्धनको बढ्दो लागत र वातावरणमैत्री प्रविधिप्रतिको आकर्षणले चिनियाँ विद्युतीय गाडीको माग बढाउन सहयोग पुगेको विश्लेषण गरिएको छ ।
तर घरेलु बजारको अवस्था भने निराशाजनक बनेको छ । सीएएएमका अनुसार चीनभित्र यात्रुवाहक कार बिक्री गत वर्षको तुलनामा २५ दशमलव ५ प्रतिशतले घटेर १३ लाख सवारीसाधनमा सीमित भएको छ । वार्षिक आधारमा कार बिक्री घटेको यो लगातार छैटौँ महिना हो ।
विश्लेषकहरूका अनुसार नयाँ ऊर्जा सवारीसाधन खरिदमा सरकारले दिँदै आएको सहुलियत र अनुदान कटौती गरिनु घरेलु माग कमजोर हुनुको मुख्य कारण बनेको छ । त्यससँगै लामो समयदेखि जारी रियल स्टेटको मन्दी र अनिश्चित आर्थिक अवस्थाले पनि उपभोक्तालाई नयाँ गाडी खरिदमा सतर्क बनाएको बताइएको छ ।
चिनियाँ अटो उद्योगभित्रको प्रतिस्पर्धा पनि अत्यन्तै तीव्र बन्दै गएको छ । गत महिना आयोजित बेइजिङ अटो शोमा एक हजार चार सय ५० भन्दा बढी सवारीसाधन प्रदर्शन गरिएको थियो । कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई) प्रविधि समावेश गरिएका स्मार्ट कारदेखि अत्याधुनिक अल्ट्राफास्ट चार्जिङ ब्याट्रीसम्मका नयाँ प्रविधि सार्वजनिक गरिएका थिए । यसले चीनका अटो उत्पादकहरू प्रविधि र नवप्रवर्तनमा आक्रामक रूपमा अघि बढिरहेको सङ्केत गरेको छ ।
केही विश्लेषकहरूले भने वर्षको उत्तरार्धमा घरेलु बजारमा सुधार आउन सक्ने अनुमान गरेका छन् । परामर्शदाता संस्था एलिक्सपार्टनर्सका अटोमोटिभ अभ्यास साझेदार यिचाओ झाङका अनुसार यस वर्ष थप नयाँ मोडल बजारमा आउने तयारीमा छन् र सरकारी अनुदान संरचनामा भएका परिवर्तनप्रति उपभोक्ता क्रमशः अभ्यस्त हुँदै जाँदा नयाँ गाडी खरिद बढ्न सक्ने सम्भावना छ ।
विदेशी बजारमा भने चिनियाँ ब्रान्डहरूको प्रभाव उल्लेखनीय रूपमा फैलिरहेको छ । बीवाइडी र गीली अटोजस्ता प्रमुख चिनियाँ कम्पनीहरूले युरोप, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियासहित विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । निर्यात मात्र नभई केही कम्पनीहरूले विदेशमै उत्पादन क्षमता विस्तार गर्न कारखाना स्थापना गर्न थालेका छन् । विशेषगरी बीवाईडीले युरोप र ल्याटिन अमेरिकामा उत्पादन केन्द्र निर्माण गर्ने योजनालाई तीव्रता दिएको छ ।
इरानसँगको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्न थालेपछि विद्युतीय सवारीसाधनतर्फ विश्वव्यापी आकर्षण झन् बढ्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको फेडेरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिजका अनुसार अप्रिलमा बिक्री भएका प्रत्येक छमध्ये एक नयाँ सवारी विद्युतीय गाडी थियो । त्यहाँ बीवाइडी टोयोटापछि दोस्रो सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बनेको छ ।
एस एन्ड पी ग्लोबल रेटिङ्सकी अटो विश्लेषक क्लेयर युआनले तेल तथा इन्धनको मूल्य लामो समयसम्म उच्च रहने सम्भावना देखिएकाले त्यसले उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहित गर्ने बताउनुभयो । उहाँका अनुसार त्यसको प्रत्यक्ष लाभ चिनियाँ विद्युतीय सवारी निर्यातलाई पुग्नेछ ।
एलिक्सपार्टनर्सले सन् २०२६ मा चीनको समग्र यात्रुवाहक कार निर्यात करिब २० प्रतिशतले बढ्न सक्ने अनुमान गरेको छ । दक्षिणपूर्वी एसियासहितका उदीयमान बजारमा चिनियाँ अटो कम्पनीहरूले आक्रामक विस्तार गरिरहेका कारण निर्यात वृद्धि निरन्तर रहने प्रक्षेपण गरिएको हो ।
यसबीच चिनियाँ विद्युतीय सवारी आयातसम्बन्धी विषयमा बेइजिङले युरोपेली सङ्घ (इयु) र क्यान डासँग पनि छलफल अघि बढाइरहेको छ । यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने व्यापार वार्तालाई अटो उद्योगले विशेष चासोका साथ हेरिरहेको छ ।
अमेरिकाले भने चिनियाँ विद्युतीय गाडीप्रति कडा रक्षात्मक नीति अपनाइरहेको छ । पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले सन् २०२४ मा चिनियाँ विद्युतीय सवारीसाधनमा १०० प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी बजारमा चिनियाँ अटो उत्पादकहरूको पहुँच प्रभावकारी रूपमा अवरुद्ध भएको छ ।
