जर्ज मुन्सीको अर्धशतक, नेपाललाई स्कटल्यान्डले दियो २४४ रनको लक्ष्य
काठमाडौं। ओपनर जर्ज मुन्सीको अर्धशतकप्रेरित स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको हो।
स्कटल्यान्डका मुन्सीले ७५ रनको उत्कृष्ट इनिङ खेले। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे। फिन्ले म्याककिएथले ३५ रन र माइकल इंग्लिसले अविजित ३४ रन जोडे। त्यसैगरी माइकल लिस्कले २९, मार्क वाटले २४ र म्याथ्यु क्रसले १८ रनको योगदान दिए।
पहिलो विकेटका लागि मुन्सी र म्याककिएथबीच ११४ रनको साझेदारी भएको थियो, जसलाई सन्दीप लामिछानेले तोडेका थिए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चिए। करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे।
