स्कटल्याण्डसँग नेपाल २ रनले पराजित
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्डसँग २ रनले पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।
स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्वाधिक ७५ रन बनाए भने फिन्ले एमसीक्रेथले ३५, माइकल इंगलिसले ३४, मार्क वाटले ३४ तथा माइकल लिस्कले २९ रनको योगदान दिए।
नेपालका लागि सन्दीप लामिछाने ले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। करन केसी र नन्दन यादवले समान २-२ विकेट लिए।
वर्षाका कारण डिएलएस मेथडअनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो। तर नेपाल निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमा सीमित भयो।
नेपालका लागि गुलशन झा ले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६१ रन बनाए। दीपेन्द्र सिंह ऐरी ले ५५ रन तथा कप्तान रोहित पौडेल ले ३२ रनको योगदान दिए।
स्कटल्याण्डका लागि ब्राड कर्रीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारे। ओलिभर डेभिडसन र ज्याक जार्भिसले समान १-१ विकेट लिए।
अन्तिम ओभरसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा नेपाल जित नजिक पुगेर पनि २ रनले रोकिएको हो।
