`

सीईओ पक्राउ परेपछि पछि बैंकिङ संघहरूको आपत्ति, स्थायित्वमा असर पर्ने चेतावनी

Nepal One HD ३१ वैशाख २०८३ १४:५७
अर्थ समाचार

काठमाडौं । धितो लिलामी गरेर कर्जा असुली गर्दा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पक्राउ गरिनु बैंकिङ प्रणालीको स्थायित्वका लागि जोखिमपूर्ण हुने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै छाता संगठनहरूले आपत्ति जनाएका छन् ।

बुधबार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे लाई प्रहरीले स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेपछि बैंकिङ क्षेत्रले संयुक्त प्रतिक्रिया दिएको हो ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति असन्तुष्टि जनाएका हुन् ।

संघहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कर्जा असुलीका क्रममा धितो लिलामी गर्नु संस्थागत प्रक्रिया भएको भन्दै त्यसलाई आपराधिक रूपमा नहेर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाले कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृत पक्राउ पर्नुले बैंकको साखमा गिरावट आउन सक्छ र स्थायित्वमा आँच पुग्न सक्छ ।’

संघहरूले ‘सुन अनि थुनको सिद्धान्त’ अनुसार अनुसन्धान अघि बढाउन र सीईओ पाण्डेलाई थुनामुक्त राखेर प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *