`

किर्तिपुरमा स्कटल्याण्डको कीर्तिमानी रन रेकर्ड : अमेरिकालाई दियो ३२२ रनको विशाल लक्ष्य

Nepal One HD ३१ वैशाख २०८३ १४:५५
खेलकुद

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत १०४ औं खेलमा स्कटल्यान्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित मैदानमा बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रनको बलियो योगफल तयार पारेको हो।

स्कटल्यान्डका लागि तीन ब्याटरले अर्धशतक प्रहार गर्दै टोलीको इनिङ्सलाई मजबुत बनाए। मध्यक्रमका फिनले म्याकक्रेथले सर्वाधिक ७७ रनको योगदान दिए। उनले १०२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। विकेटकिपर म्याथ्यु क्रसले आक्रामक ब्याटिङ गर्दै मात्र ३२ बलमा ८ चौका र २ छक्कासहित ५८ रन बनाए। त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रनको उपयोगी इनिङ्स खेले।

माइकल इंग्लिसले ३२ रन र ओपनर जर्ज मुन्सेले २० रनको योगदान दिए। कप्तान रिची बेरिङटन भने २२ बलमा १० रनमै आउट भए। स्कटल्यान्डले ३० रनमा पहिलो, ११२ रनमा दोस्रो र १२५ रनमा तेस्रो विकेट गुमाएको थियो।

इनिङ्सको अन्त्यतिर माइकल लिस्क र मार्क वाटले विस्फोटक ब्याटिङ गर्दै स्कोरलाई ठूलो बनाएका थिए। लिस्कले १२ बलमा अविजित २८ रन (३ छक्का, १ चौका) र वाटले १३ बलमा अविजित २५ रन (२ चौका, १ छक्का) जोडे।

अमेरिकाका लागि बलिङतर्फ सौरभ नेत्रावलकर र जसदीप सिंहले २–२ विकेट लिए। नेत्रावलकरले ९ ओभरमा ४४ रन खर्चिए भने जसदीपले १० ओभरमा ७७ रन दिए। मिलिन्द कुमार र शुभम रन्जानेले १–१ विकेट लिए। हरमित सिंह र मोहम्मद मोहसिनले विकेट लिन नसके पनि महँगो साबित भए।

४७ ओभरमा सीमित खेलमा ३२२ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *