`

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, बेरुजु घटाउन जोड

Nepal One HD १ जेठ २०८३ १३:२८
अर्थ समाचार

काठमाडौं । रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको कार्यालय ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवास मा आयोजित विशेष कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले उक्त प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दो बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले सार्वजनिक निकायहरूमा जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नु राज्यको प्रमुख दायित्व भएको बताए ।

उनले भने, ‘बेरुजु फर्स्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ ।’

राष्ट्रपति पौडेलले फजुल खर्च नियन्त्रण गर्दै आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकले दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिवेदनमा उल्लेख भएका सुझाव र त्रुटिहरूले सम्बन्धित निकायलाई अझ जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा समेत गरे ।

आर्थिक पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले संस्थागत क्षमता विकास, पेशागत मर्यादा र आन्तरिक सुशासन सुदृढ गर्न कार्यालय अझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *