ट्रम्पपछि चीन आउने तयारीमा पुटिन,किन ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि रूस र चीनबीचको कूटनीतिक गतिविधि थप सक्रिय बनेको छ । यसैबीच भ्लादिमिर पुटिन पनि चीन भ्रमण गर्ने तयारीमा रहेका छन् ।
रूसी समाचार एजेन्सी तास समाचार एजेन्सी का अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको चीन भ्रमणको तयारी लगभग पूरा भइसकेको र यसको औपचारिक मिति चाँडै घोषणा हुने जानकारी दिएका छन् ।
क्रेमलिनले भ्रमणको विस्तृत एजेन्डा सार्वजनिक नगरे पनि रूस र चीनबीच उच्चस्तरीय छलफल जारी रहेको र तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
यसअघि मे ९ मा पुटिनले चीन, भारत र अमेरिकालाई युक्रेन द्वन्द्वको अवस्थाबारे जानकारी गराउँदै दोस्रो विश्वयुद्धको स्मरणमा किएभसँग तीन दिने युद्धविरामको प्रस्ताव अघि सारेका थिए ।
त्यसैबीच, अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङ बीचको सम्बन्धमा पनि नयाँ कूटनीतिक संकेत देखिएको छ । बेइजिङमा आयोजित राजकीय भोजमा सीले अमेरिका–चीन सम्बन्धलाई आधुनिक युगको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धका रूपमा उल्लेख गरेका थिए ।
ट्रम्पले पनि सीलाई आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएको बताइएको छ ।
अमेरिकाले चीनसँग ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरिरहेका बेला पुटिनको प्रस्तावित चीन भ्रमणलाई अन्तर्राष्ट्रिय रूपमा रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।
