संविधान संशोधन बहसपत्रबारे ‘जेन्जी’लाई सकारात्मक संवादमा सहभागी हुन आह्वान
काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न गठित कार्यदलले आज हुने छलफलमा सहभागी हुन जेन्जी प्रतिनिधि लाई आह्वान गरेको छ ।
कार्यदलका संयोजक असिम शाह ले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिने उद्देश्य रहेको भन्दै छलफललाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन् ।
उनका अनुसार आज साँझ ५ बजे तय गरिएको छलफलमा अघिल्लो सरकारसँग भएका सहमतिलाई लिएर केही अन्योल देखिए पनि ती सहमति कार्यान्वयनको चरणमा रहेको स्पष्ट पारिएको छ । उनले जेन्जी परिषद् गठनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।
कार्यदलले यो छलफललाई संविधान संशोधनका लागि सुझाव संकलन गर्ने अलग र विशेष प्रक्रिया भएको भन्दै अन्य राजनीतिक विवादसँग नजोड्न आग्रह गरेको छ ।
छलफलमा मौखिक तथा लिखित दुवै माध्यमबाट सुझाव संकलन गरिने र कसैको आवाज नछुट्ने दाबी कार्यदलले गरेको छ ।
यसअघि चैत २५ गतेदेखि सुरु गरिएको परामर्श प्रक्रियाअन्तर्गत कार्यदलले हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल गरिसकेको छ । अब अन्य सरोकारवालासँग पनि क्रमशः परामर्श गरिने बताइएको छ ।
शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको कार्यदलले जनाएको छ ।
