`

हेरी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

Nepal One HD ३ जेठ २०८३ ११:१०
खेलकुद

काठमाडौं। जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा एफसी कोलोनलाई ५–१ गोलले पराजित गरेको छ । म्युनिखस्थित अलियान्ज एरिनामा भएको खेलमा हेरी केनले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए ।

खेलको १०औँ मिनेटमा बायर्नले अग्रता लिएको थियो । कोनराड लाइमरको क्रसलाई जोशुआ किमिखले अगाडि बढाएपछि केनले नजिकबाट प्रहार गर्दै गोल गरेका हुन् । त्यसको तीन मिनेटमै किमिखकै छोटो पासमा केनले सुन्दर प्रहार गर्दै दोस्रो गोल थपे ।

१८औँ मिनेटमा सइद एल मालाले कोलोनका लागि गोल गर्दै खेल २–१ मा ल्याए । तर त्यसको चार मिनेटमै टम बिसखोफले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बायर्नको अग्रता फेरि दुई गोलको बनाए ।

दोस्रो हाफमा पनि बायर्नले दबाब कायम राख्यो । ६९औँ मिनेटमा केनले टाढाबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे । खेल सकिन सात मिनेट बाँकी रहँदा निकोलस ज्याक्सनले लुइस डियाजको पासमा गोल गर्दै बायर्नको ५–१ को जित पक्का गरे ।

यो सिजन बायर्न म्युनिखले बुन्डेसलिगामा कुल १२२ गोल गरेको छ, जुन युरोपका शीर्ष लिगमध्ये एक उत्कृष्ट प्रदर्शन मानिएको छ । केनले पनि उत्कृष्ट लय कायम राख्दै सिजनभर ३६ गोल गरेका छन्, जुन लिगकै सर्वाधिक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *