`

सभामुखलाई गोकुलको कटाक्ष : कालो ड्रेसवालाभन्दा पनि कडा हर्कको फेला परेछौ

Nepal One HD ५ जेठ २०८३ ७:५२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभामा सोमबारको भएको विरोध प्रदर्शनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालले आफ्नै अगाडि प्लेकार्डसहित प्रदर्शन गरेपछि श्रम संस्कृति पार्टीका हर्क साम्पाङ लगायत सांसदहरूलाई रुलिङ गरेको प्रसंगमा बास्कोटाले सामाजिक सञ्जालमार्फत पुरानो संसद् घटनाको स्मरण गरेका हुन् ।

अघिल्लो प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुखकै अगाडि कपी झिकेर पाठ पढ्दै सदन अवरोध गरेको प्रसंग जोड्दै उनले लेखेका छन्, ‘झल्झली आँखामा विगतको यादले नोष्टाल्जिक भएँ । मैले घाँटी कसिने गरी नीलो स्कार्फ नबेर अनि कपी झिकेर सभामुखको अगाडि पाठ नपढ न नजिर बस्छ भन्दा उ बेला मानेनौँ ।’

बास्कोटाले त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई संकेत गर्दै थप टिप्पणी गरेका छन्, ‘अहिले कालो ड्रेसवाला भन्दा पनि कडा हर्कको फेला परेछौँ।’

उनको टिप्पणीलाई संसदभित्र देखिएको पछिल्लो विरोध शैली र अघिल्लो संसदमा रास्वपाले अपनाएको शैलीबीच तुलना गरिएको रूपमा हेरिएको छ ।

यसअघि अघिल्लो प्रतिनिधि सभामा रास्वपाका सांसदहरूले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि संसदमा विरोध जनाउँदै कपी झिकेर सभामुखकै अगाडि पाठ पढ्ने शैली अपनाएका थिए । त्यतिबेला उक्त गतिविधिलाई संसदीय मर्यादाविपरीत भएको भन्दै आलोचना गरिएको थियो ।

सोमबार भने श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखकै अगाडि प्लेकार्डसहित मौन प्रदर्शन गरेका थिए । त्यसलगत्तै सभामुख अर्यालले संसदीय मर्यादा र अनुशासन कायम गर्न निर्देशन दिँदै रुलिङ गरेका थिए ।

उनीहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएको तथा संसद्को अवमूल्यन गरिएको भन्दै विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *