सर्वोच्चले असहयोग गरेको भन्दै शर्मालाई आजै पदबहाली गराउने सरकारको तयारी
काठमाडौं । सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्मा लाई आजै पदबहाली गराउने तयारी गरिएको छ।
सत्तापक्षले सर्वोच्च अदालतले सरकारलाई अपेक्षित सहयोग नगरेको निष्कर्षसहित प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तीव्र बनाएको बताइएको छ। संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो।
शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। ती उजुरीमाथिको सुनुवाइ मंगलबार बिहानदेखि सुरू भइसकेको छ।
सत्तारूढ पक्षका एक नेताका अनुसार शर्मालाई आजै संसदीय सुनुवाइबाट अनुमोदन गराउने र बुधबारदेखि नै मुद्दाको कजलिस्ट तोक्ने गरी प्रक्रिया अघि बढाइएको छ।
प्रधानन्यायाधीश अनुमोदन भएपछि संसद सचिवालयले त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाउने संवैधानिक व्यवस्था छ। त्यसपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय निर्धारण गर्ने प्रचलन रहेको छ।
स्रोतका अनुसार आज बेलुका ६ बजाभित्रै शपथ गराउने गरी राष्ट्रपति कार्यालयसँग समन्वय भइरहेको छ। शपथपछि डा. शर्मा आजै साँझ सर्वोच्च अदालतमा पदबहाली गर्ने तयारी रहेको बताइएको छ।
यद्यपि, राष्ट्रपति कार्यालयले भने हालसम्म शपथ ग्रहणबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ ।
