‘प्रधानमन्त्री र अर्थमन्त्री नआउने, सदन कसरी चल्छ?’ – सांसद राई
काठमाडौं। नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने बताएका हुन् ।
उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा अनुपस्थित हुने प्रवृत्तिप्रति आपत्ति जनाउँदै प्रश्न गरे, ‘प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन ?’
उनले थपे, ‘म थितिलाई बदल्न चाहन्न। यहाँ तपाईँहरूले हेप्नुभयो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? गम्भीर प्रश्न बनिसक्यो। अब प्रतिपक्षलाई दिनुस्। हामी चलाउँछौँ यो देश। देश चलाउने हिम्मत हामीसँग छ। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ।’
सांसद राईले सरकारको यस्तो शैलीले संसदीय अभ्यास कमजोर बनाएको भन्दै आलोचना गरे ।
