मिस नेपाल हङकङले गर्यो क्यान्सर सचेतना कार्यक्रम
काठमाडौं। व्यापारिक सहर हङकङको प्रसिद्ध पर्यटकीय स्थल ‘द पिक’ मा क्यान्सर सचेतना तथा फन्डरेजिङ हाइकिङ कार्यक्रम आयोजना गरिएको छ ।
मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला खरेलको संयोजन तथा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमको मुख्य उद्देश्य पर्सा जिल्लाका आर्थिक रूपमा विपन्न दुई सय महिलाहरूका लागि नि:शुल्क क्यान्सर स्क्रिनिङका लागि आर्थिक सहयोग जुटाउनु रहेको हो ।
कार्यक्रममा १३० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूको उत्साह देखेर संयोजक दीपमाला खरेल भावुक बनेकी थिइन् । उनले कार्यक्रममा भनिन्, ‘यो केवल हाइकिङ होइन, नेपाली समुदायको सामूहिक चेतना र सहयोगको अभियान हो ।’
कार्यक्रमअन्तर्गत सर्भिकल क्यान्सर र ब्रेस्ट क्यान्सरको प्रारम्भिक पहिचान, सचेतना तथा नि:शुल्क स्क्रिनिङमा विशेष जोड दिइएको आयोजकले जनाएको छ । नेपाल क्यान्सर अस्पतालका चिकित्सक तथा नर्सहरूको टोली गाउँमै पुगेर परीक्षण, परामर्श र उपचार गर्ने तयारीमा रहेको छ ।
आयोजकका अनुसार क्यान्सरको प्रारम्भिक चरणमा पहिचान भएमा उपचार सम्भव हुने भएकाले ग्रामीण क्षेत्रमा नियमित स्क्रिनिङ अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रम केवल हाइकिङमा सीमित नभई प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहयोग र मानवीय भावनाको सन्देश फैलाउने माध्यम बनेको आयोजकहरूको भनाइ छ ।
सहभागीहरूले २०० हङकङ डलरदेखि ४ हजार हङकङ डलरसम्म सहयोग गरेका थिए । वर्षाका कारण केही असुविधा भए पनि कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो ।
समारोहमा नेपाली तथा विदेशी विद्यार्थीहरू, सामाजिक अभियन्ता, खेलाडी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । साथै, नेपाली महावाणिज्य दूतावास हङकङसँग सम्बन्धित अधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमा प्रदान गरेको आयोजकले जनाएको छ ।
आयोजकहरूका अनुसार यो अभियानले क्यान्सर सचेतना मात्र होइन, प्रवासमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व र एकताको भावना पनि सुदृढ बनाएको छ ।
