`

शिक्षक-विद्यार्थीसहित ४६ जनाको अपहरण

Nepal One HD ५ जेठ २०८३ १६:०३
विश्व

एजेन्सी। नाइजेरियाको दक्षिण-पश्चिमी ओयो राज्यमा सशस्त्र समूहले विद्यालयहरूमा आक्रमण गरी ३९ जना विद्यार्थी र ७ जना शिक्षकसहित ४६ जनालाई अपहरण गरेको छ ।

अधिकारीहरूका अनुसार घटना गत शुक्रबार अहोरो एसिनेले क्षेत्रमा भएको हो । आक्रमणकारीहरूले एक माध्यमिक विद्यालय र दुई प्राथमिक विद्यालयलाई एकैसाथ निशाना बनाएको जनाइएको छ ।

नाइजेरियाको क्रिश्चियन एसोसिएसनका ओयो राज्य अध्यक्ष एलिशा ओलुकायोडे ओगुन्डियाले अपहरणमा परेकामध्ये अधिकांश दुईदेखि १६ वर्ष उमेर समूहका बालबालिका रहेको बताएका छन् ।

प्रहरीले यस घटनालाई समन्वित आक्रमणको रूपमा व्याख्या गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार सशस्त्र समूहले एकै समयमा विभिन्न विद्यालयमा प्रवेश गरी अपहरण गरेको हो ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले घटनाको कडा निन्दा गर्दै यसलाई ‘बर्बर आक्रमण’ भनेका छन् । उनले संघीय सरकार र ओयो राज्य प्रशासन मिलेर अपहरितहरूको सुरक्षित उद्धारका लागि प्रयास भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा ‘हामी चाँडै सकारात्मक प्रगतिको अपेक्षा गरिरहेका छौँ’ भनिएको छ ।

यसैबीच, राज्य गभर्नर ओलुसेई अबियोडुन माकिन्डेका अनुसार अपहरणमा परेका एक शिक्षकको आइतबार हत्या गरिएको छ । घटनासँग सम्बन्धित ६ जना सन्दिग्धलाई पक्राउ गरिएको पनि उनले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरू अपहरणकारीलाई सूचना तथा रसद उपलब्ध गराउने व्यक्तिहरू रहेको बताइएको छ ।

उद्धार अभियानमा सेना, प्रहरी तथा स्थानीय सुरक्षा समूह सक्रिय रहेका छन् । तर अपहरणकारीहरूले बाटोमा राखेका विस्फोटक पदार्थका कारण उद्धार टोलीमाथि आक्रमण हुँदा केही सुरक्षाकर्मी घाइते भएको र उनीहरूको उपचार भइरहेको राज्य सरकारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *