प्रहरी चौकी जानै पर्दैन ! अब मोबाइलबाटै दिन सकिन्छ उजुरी
काठमाडौं। नेपाल प्रहरीले नागरिकलाई प्रहरी सेवा थप सहज,छिटो र पहुँचयोग्य बनाउने उद्देश्यसहित नयाँ डिजिटल सेवा सुरु गरेको छ ।
यससँगै अब कुनै पनि घटना वा अपराधको उजुरी दिनका लागि प्रहरी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको हो। अबदेखि नागरिकले घरमै बसेर मोबाइल एपमार्फत अनलाइन उजुरी दर्ता गर्न सक्ने व्यवस्था सुरु गरिएको छ ।
मंगलबार केन्द्रीय प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डिजिटल प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई अझ आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य रहेको बताए । उनले अब नागरिकले आफूलाई परेको घटना, दुर्घटना वा अपराधबारे विस्तृत विवरण भरेर मोबाइल एपबाटै उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
यसले प्रहरी कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटाउने मात्र नभई समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा यो सेवा ‘डिजिटल पोलिसिङ’ तर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
त्यस्तै आईजीपी कार्कीले नागरिकलाई प्रहरी सेवा लिन कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमार्फत सहज पहुँच सुनिश्चित गर्नु प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।
उनले भने, ‘नागरिकले मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सक्नेछन् र त्यसको अवस्थाबारे अनलाइनमै जानकारी लिन सक्नेछन् ।’ उनले थपे, ‘प्रहरी सेवालाई पारदर्शी, छिटो र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकाश गरिएको हो’
कसरी लिने सेवा ?
नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारीअनुसार यो सेवा प्रयोग गर्न नागरिकले सर्वप्रथम आफ्नो स्मार्टफोनमा ‘नेपाल पुलिस’ को आधिकारिक मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एप एन्ड्रोइड तथा आईओएस दुवै प्रणालीमा उपलब्ध छ । एप डाउनलोड गरेपछि प्रयोगकर्ताले साइन–अप गरेर व्यक्तिगत विवरण दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि एपभित्र रहेको ‘रजिस्टर कम्प्लेन्ट’ विकल्पमा गएर उजुरी दर्ता गर्न सकिन्छ ।
उजुरी दर्ता गर्दा घटनाको प्रकार, घटना भएको स्थान (लोकेसन), सम्बन्धित जिल्ला वा इलाका प्रहरी कार्यालय, घटनाको विस्तृत विवरण तथा प्रमाणका रूपमा फोटो, अडिओ र भिडियो फाइलहरू समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल प्रहरीले यो प्रणालीलाई केवल उजुरी दर्तामा सीमित नराखी त्यसको अनुगमनपनि सहज बनाएको छ । उजुरी दर्ता भएपछि प्रयोगकर्ताले आफ्नो अवस्थाबारे मोबाइल एपमार्फत नियमित अपडेट प्राप्त गर्न सक्नेछन् ।
प्रवक्ता नायव महानिरीक्षक अबि नारायण काफ्लेले अब नागरिकले उजुरी दिएपछि के भयो भन्ने जानकारी लिन फेरि प्रहरी कार्यालय धाउनुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार सबै प्रक्रिया एपमै हेर्न सकिने भएकाले सेवा थप पारदर्शी र जवाफदेही बन्नेछ ।
एपमा विभिन्न प्रकारका अपराध तथा घटनालाई छुट्टाछुट्टै शीर्षकमा वर्गीकरण गरिएको छ। जसअनुसार नागरिकले सजिलै आफ्नो समस्या अनुसार उजुरी दिन सक्नेछन् । तीमध्ये दुर्घटना, साइबर अपराध, चोरी तथा लुटपाट,घरेलु हिंसा, लागूऔषध सम्बन्धी अपराध, आर्थिक अपराध तथा अन्य आपराधिक गतिविधिहरू समावेश छन् ।
यी सबै शीर्षकहरू सम्बन्धित ब्युरो तथा विभागमा स्वचालित रूपमा पठाइने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले यो सेवा सुरु गर्नुको मुख्य उद्देश्य प्रहरी सेवालाई जनमैत्री,पारदर्शी र प्रभावकारी बनाउनु रहेको बताएको छ ।
डिजिटल प्रणालीमार्फत उजुरी दर्ता गर्दा बिचौलिया प्रवृत्ति घट्ने, ढिलासुस्ती कम हुने र नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।
समाचारमा उल्लेख गरिएको प्रहरी महानिरीक्षकको नाम दानबहादुर कार्की नै रहेको प्रहरीले स्पष्ट पारेको छ । प्रारम्भिक विवरणमा देखिएको त्रुटि सच्याइएको जनाइएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार भविष्यमा यो प्रणाली देशभरका सबै प्रहरी कार्यालयसँग पूर्ण रूपमा एकीकृत गरिनेछ, जसले उजुरी दर्ता र कारबाही प्रक्रिया अझ व्यवस्थित, छिटो र पारदर्शी बनाउनेछ ।
