नेपाल २ विकेटले विजयी
काठमाडौं । मलेसियाविरुद्धको पहिलो टी-२० खेलमा नेपाली महिला टोलीले संघर्षपूर्ण २ विकेटको जित निकालेको छ । मलेसियाको बुयनास ओभलमा भएको खेलमा सामान्य ६८ रनको लक्ष्य पछ्याउँदा पनि नेपालले निकै दबाब झेल्नुपरेको थियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले मात्रै जिम्मेवार ब्याटिङ गरिन् । अन्य ब्याटरहरू लगातार आउट भइरहँदा उनले एक छेउ सम्हालिरहिन् । तर जित नजिक पुग्दै गर्दा उनी पनि धैर्यता गुमाएर आउट भइन् । नेपाललाई जितका लागि ७ रन आवश्यक रहेको अवस्थामा आठौं विकेटका रूपमा आउट भएकी सम्झनाले ३९ बलमा ३२ रन बनाइन् ।
त्यसपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । नवौं नम्बरमा मैदान उत्रिएकी कविता जोशीले लगातार दुई आक्रामक प्रहार गर्दै स्कोर बराबरीमा पुर्याइन् । अन्ततः रिया शर्माले १७.३ ओभरमा चौका प्रहार गर्दै नेपाललाई रोमाञ्चक जित दिलाइन् ।
यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ६७ रनमै सीमित गरेको थियो । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान २–२ विकेट हात पारे । मलेसियाका ब्याटरमध्ये एक जनाले मात्रै दोहोरो अंकमा रन बनाउन सफल भइन् ।
नेपालले एसियन गेम्स महिला टी-२० क्वालिफायरको तयारीस्वरूप मलेसियासँग दुई खेलको टी-२० सिरिज खेलिरहेको हो ।
