‘पुराना दललाई अमानवीय व्यवहार भइरहेको छ’ : एमाले
काठमाडौं। एमाले सांसद एशुदाकुमारी बरालले सत्तापक्षबाट आफूहरूमाथि अमानवीय र अशिष्ट व्यवहार भइरहेको टिप्पणी गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुराना दलका सांसदलाई पटक-पटक अपमानजनक व्यवहार गरिएको बताइन् ।
उनले भनिन्, ‘पुराना दलहरूलाई घरिघरी अशिष्ट व्यवहार, अमानवीय व्यवहार गरिरहनुभएको छ ।’
बरालले आफूहरू संसद्मा वादविवाद गर्न नभई जनताको आवाज उठाउन आएको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘हामी वादविवाद गर्न आएका होइनौँ । तपाईं बसेको र हाम्रो कुर्सी बराबर हो । २७५ जनताको आवाज बोल्न आएका हौँ । प्रतिस्पर्धा र वादविवाद गर्न आएका होइनौँ ।’
उनले ‘पुराना सांसदले केही गरेनन्’, ‘सदन गन्हायो’ जस्ता अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि माग गरिन् ।
सभामुखले विपक्षी दलका अभिव्यक्तिमा मात्रै ध्यानाकर्षण गराउने तर सत्तापक्षका सांसदले बोलेका विषयमा मौन बस्ने गरेको आरोप पनि उनले लगाइन् ।
बरालले भनिन्, ‘विपक्षी दलले भनेको शब्द तत्काल सभामुखज्यूको ध्यानाकर्षण हुन्छ भने सत्तापक्षका माननीयज्यूले बोलेका कुरा ध्यानाकर्षण भएका छैनन् । ध्यानाकर्षण होस् ।’
