प्रतिनिधिसभाको आकस्मिक समयमा जनजीविकाका मुद्दा केन्द्रमा
काठमाडौं। प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा सुधार, विपद् व्यवस्थापन, सुकुम्बासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसदहरूले देशभर देखिएका आधारभूत सेवा अभावदेखि प्राकृतिक प्रकोपका असर र सामाजिक सुरक्षासम्बन्धी समस्यासम्मका मुद्दा उठाएका थिए ।
सांसद ज्ञानु पौडेलले नागरिकको मौलिक अधिकारका रूपमा रहेको स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनमा सरकार असफल भइरहेको टिप्पणी गरिन् । उनले देशभर स्वास्थ्य सेवाको पहुँच अझै सहज र समान रूपमा उपलब्ध नभएको बताइन् ।
उनका अनुसार रुपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । ‘अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका लागि आवश्यक औषधि तथा जीवनरक्षक औषधिको अभाव छ । तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दछु,’ उनले भनिन् ।
सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तविक सुकुम्बासीको समयमै व्यवस्थापन गर्न सरकार असफल भएको बताए । उनले विपद्बाट क्षति पुगेका सडक, खानेपानी तथा पूर्वाधार पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गरे । उनले विपद् व्यवस्थापनलाई दीर्घकालीन योजनासहित प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।
सांसद डा. अर्जुनकुमार कार्कीले इबोला भाइरस सङ्क्रमणको सम्भावित जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोलालाई गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको उल्लेख गर्दै अफ्रिकी मुलुकमा कार्यरत नेपाली नागरिकमार्फत नेपालमा पनि जोखिम प्रवेश गर्न सक्ने सम्भावनाबारे सचेत रहन आग्रह गरे ।
सांसद साजिदा खातुन सिद्धिकीले सडक दुर्घटनाका घटना बढ्दै गएको भन्दै सडक सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन् ।
त्यस्तै सांसद मदनकृष्ण श्रेष्ठले अति अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र हेरचाहका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।
सांसद समिना मियाँले बकर इदका अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै देशको धार्मिक र सांस्कृतिक विविधताको सम्मान गर्नुपर्ने धारणा राखिन् ।
सांसद यशोधाकुमारी बराल र रमेश सापकोटाले हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकामा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको भन्दै तत्काल राहत र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद सापकोटाले सडक पहुँच नहुँदा राहत सामग्री प्रभावित क्षेत्रमा पुग्न नसकेको उल्लेख गर्दै तत्काल बजेट विनियोजन र दीर्घकालीन विपद् व्यवस्थापन संयन्त्र निर्माण गर्न आग्रह गरे ।
बुधवारको बैठकमा सांसदहरूले उठाएका विषयहरू मुख्यतः स्वास्थ्य सेवा सुदृढीकरण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र आधारभूत सेवाको पहुँचसँग सम्बन्धित थिए । उनीहरूले सरकारलाई तत्काल कदम चाल्न र दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
