खरानी टकटक्याएर जुरुक्क उठ्दै मिनबहादुर
काठमाडौं । हालै भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी दान गरेका हुन् । यसअघि पनि उनले थुप्रै ठाउँमा पैँसा दान र चन्दा सहयोग गर्दै आएका छन्।
अहिले व्यावसायी मिनबहादुर गुरुङ पुनः आफ्नो व्यवसायलाई पुनर्जीवित गर्ने अभियानमा छन्। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएको तोडफोड र आगजनीबाट उनको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट चेनमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो। सो घटनापछि धेरैले उनको व्यवसायिक यात्रामा ठूलो धक्का लागेको र भाटभटेनीको भविष्य अनिश्चित बनेको अनुमान गरेका थिए।
तर, अपेक्षाविपरीत गुरुङले हार नमान्दै पुनर्निर्माण र पुनःस्थापनाको कामलाई तीव्रता दिएका छन्। आगजनी र क्षति पुगेका शाखाहरूमा सरसफाइ, मर्मत तथा पुनःसञ्चालनको काम क्रमशः अघि बढाइएको छ। केही आउटलेटहरू पहिले नै पुनः सञ्चालनमा आइसकेका छन् भने अन्य शाखाहरू पुनर्निर्माणको चरणमा छन्। यसले भाटभटेनी पुनः सामान्य अवस्थामा फर्किएको छ।
भाटभटेनी सुपरमार्केट अहिले पनि नेपाली उपभोक्ताहरूका लागि दैनिक आवश्यक वस्तु खरिद गर्ने सबैभन्दा ठूलो र लोकप्रिय खुद्रा बजारका रूपमा स्थापित छ। खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्रीसम्म एकै छानामुनि उपलब्ध गराउने यस नेटवर्कले ठूलो उपभोक्ता आधार बनाएको छ।
यस व्यवसायले हजारौँ नेपालीलाई प्रत्यक्ष रोजगारी पनि प्रदान गर्दै आएको छ। व्यवस्थापन, बिक्री, आपूर्ति श्रृंखला तथा सेवा क्षेत्रमा संलग्न कर्मचारीहरूका लागि यो एउटा महत्वपूर्ण रोजगारदाताको रूपमा रहेको छ। साथै, अप्रत्यक्ष रूपमा पनि ठूलो संख्यामा व्यक्तिहरू यसको आपूर्ति तथा वितरण प्रणालीसँग जोडिएका छन्।
पुनर्निर्माण अभियानसँगै मिनबहादुर गुरुङले भाटभटेनीलाई पहिलेको जस्तै सशक्त बनाउने प्रयास गरिरहेका छन्। व्यवसायिक चुनौतीका बाबजुद निरन्तर लगानी र पुनर्संरचनामार्फत उनले आफ्नो उद्यमलाई फेरि मजबुत बनाउन थालेका छन्।
