धार्मिक पर्यटनको हिसाबले सुनसरी महत्त्वपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री कार्की
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्त्वपूर्ण एवं ऐतिहासिक भएको बताएका छन्।
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताए।
धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उनले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गरे।
सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद इन्जिनियर दीपककुमार साहले जुन उद्देश्यका साथ सिटीहल निर्माण भएको हो सोहीअनुसार प्रयोग हुनुपर्नेमा जोड दिए।
कोशी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीको अध्यक्षतामा सम्पन्न सिटीहल उद्घाटन समारोहलाई कोशी प्रदेशका सांसद सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलगायतकाले सम्बोधन गरेका थिए।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार विराटनगरको रु २८ करोड ४१ लाख १९ हजार ४३५ लागतमा निर्माण भएको सिटीहलको क्षमता ५०० जना अट्ने रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज कोशी गाउँपालिकाको लौकहीमा आयोजित विशेष समारोहकाबिच आधुनिक एवं सुविधा सम्पन्न सिटीहलको उद्घाटन गरेका थिए।
