राईले अर्याललाई रास्वपाको ‘निलो स्कार्फ’ सहितको अवरोध सम्झाएपछि(भिडियो)
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सरकारलाई संख्याको दम्भ नदेखाउन चेतावनी दिएका हुन्।
राईले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोज्दा सभामुख र सरकार दुवैबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनले पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारको जवाफदेहिता माग गर्दै सदनमा प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गर्दै त्यसलाई अमर्यादित भनिएकोप्रति आपत्ति जनाए।
उनले अहिले सत्तामा रहेको दल विगतमा प्रतिपक्षमा हुँदा नीलो स्कार्फ बाँधेर वेल घेराउ गर्ने, वेलमा पुगेर पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गराए। त्यतिबेला ती गतिविधिलाई संसदीय मर्यादाविपरीत नभनिएको तर अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा अमर्यादित भनिएकोप्रति उनले प्रश्न उठाए।
राईले विगतका ती गतिविधि पनि गलत रहेको र अहिले भइरहेका गतिविधि पनि संसदीय मर्यादाअनुकूल नभएको कांग्रेसको निष्कर्ष रहेको बताए।
