`

गोपी हमाल आक्रमणमा परेपछि सीमा विवाद तत्काल समाधान गर्न केपी खनालको माग (भिडियो)

Nepal One HD ७ जेठ २०८३ १२:३२
बिशेष

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन क्षेत्रको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीमाथि भएको दुव्र्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए।

खनालले साइपाल हिमालको पूर्वी बेसक्याम्प रहेको उक्त क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार सम्भावना बोकेको ठाउँ भएको बताए। उनले वर्षौंदेखि त्यहाँ जडीबुटी र वन्यजन्तुको अवैध तस्करी भइरहेको सूचना प्राप्त भएको उल्लेख गरे।

उनका अनुसार त्यस क्षेत्रमा प्रहरी चौकी स्थापना हुने र पर्यटकको चहलपहल बढ्ने अवस्था आएपछि अवैध गतिविधिमा संलग्न समूहहरू त्रसित बनेका छन्। चौकी स्थापनाका लागि पहल गर्ने वडा सदस्यसहितका व्यक्तिलाई अराजक समूहले कुटपिट तथा बन्धक बनाएको जानकारी आफूले पाएको उनले बताए।

स्थानीय तहको प्रवर्द्धन तथा पर्यटन विकासका लागि खटिएका जनप्रतिनिधिमाथि यस्तो व्यवहार हुनु चिन्ताजनक रहेको खनालको भनाइ थियो।

उनले गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई रानीसैन क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न आग्रह गरे। साथै प्रत्येक नागरिकको सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *