विवाहित पुरुषलाई ‘अविवाहित’ सिफारिस दिने वडाध्यक्ष पक्राउ
सिन्धुपाल्चोक। लिखत कीर्तेसम्बन्धी कसुरमा बाह्रबिसे नगरपालिका-२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजीकुमार आचार्यका अनुसार तामाङलाई बाह्रबिसे क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई ‘अविवाहित’ भएको सिफारिस दिएको खुलेको छ ।
उक्त पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै वडा कार्यालयमा सिफारिस नदिन लिखित निवेदन दिएकी थिइन् । तर, सो निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित भएको सिफारिस जारी गरिएको प्रहरीको भनाइ छ ।
पीडित पक्षको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनासँग सम्बन्धित सिफारिस कागजात र निवेदनलगायत प्रमाणहरू वडा कार्यालयबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
