नासा सेक्युरिटिजको ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक, के गर्छ यसले ?
एजेन्सी। नासा सेक्युरिटिजले आफ्नो डिजिटल ट्रेडिङ प्लेटफर्मलाई परिष्कृत गर्दै ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै एपलाई अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको जनाएको छ ।
कम्पनीका अनुसार डिजिटल रूपान्तरण र लगानीकर्ताको सशक्तीकरणलाई प्राथमिकतामा राखेर एप अपग्रेड गरिएको हो । नयाँ संस्करणमा आधुनिक ‘युजर इन्टरफेस’ (यूआई), ‘बायोमेट्रिक लग इन’, ‘एएमओ अर्डर’, ‘टिकट जेनेरेसन’, ‘हिटम्याप्स’ र ‘मोबाइल चार्टिङ टुल्स’जस्ता सुविधा थपिएका छन् ।
एपका मुख्य विशेषताहरू:
नयाँ युजर इन्टरफेस
एपलाई अझ सहज र आधुनिक बनाइएको छ । यसले प्रयोगकर्तालाई छिटो र सरल तरिकाले सेवा प्रयोग गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
बायोमेट्रिक लग इन
औँठाछाप वा अनुहार पहिचानमार्फत लगइन गर्न सकिने सुविधा थपिएको छ, जसले सुरक्षा र सहजता दुवै बढाउने बताइएको छ ।
आफ्टर मार्केट अर्डर
शेयर बजार बन्द भएपछि पनि खरिद-बिक्री अर्डर राख्न सकिने सुविधा समावेश गरिएको छ, जसले व्यस्त वा विदेशमा रहेका लगानीकर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
टिकट जेनेरेसन
ग्राहक सेवा समस्याहरू एपबाटै दर्ता गर्न सकिने प्रणाली जोडिएको छ, जसले समाधान प्रक्रिया पारदर्शी बनाउने कम्पनीको भनाइ छ ।
हिटम्याप्स
रङको आधारमा बजारको उतारचढाव एकै नजरमा बुझ्न सकिने सुविधा थपिएको छ, जसले लगानीकर्तालाई बजार विश्लेषणमा सहयोग गर्नेछ ।
मोबाइल चार्टिङ टुल्स
मोबाइलमै प्राविधिक विश्लेषण गर्न सकिने सुविधा उपलब्ध गराइएको छ, जसले लगानी निर्णयलाई सहज बनाउने बताइएको छ ।
कम्पनीका अनुसार उक्त एप हाल एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । नासा सेक्युरिटिजले पुराना प्रयोगकर्तालाई एप अपडेट गर्न र नयाँ प्रयोगकर्तालाई दर्ता गरी सेवा सुरु गर्न आग्रह गरेको छ ।
