बालेन सरकार केटाकेटी आए, गुलेली चलाए, मट्याङ्ग्राको नास भने जस्तो नहोस् : नेता आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डाेलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
संसद बैठक सञ्चालनको क्रममा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता कमजोर पारिएको भन्दै सभामुख अर्यालकाे भूमिका खेदजनक भएकाे बताए । उनले सभामुखकाे अभिव्यक्तिकाे पनि विराेध गरेका छन् ।
‘संसद भनेको प्रतिपक्षको हो। सभामुख भनेको संसदलाई व्यवस्थित गर्ने संवैधानिक संस्था हो। तर आज जसरी प्रतिपक्षले आफ्ना धारणा राखिरहेका छन्, त्यसप्रति सभामुखबाट व्यक्त भएका अभिव्यक्तिहरू संसदीय जस्तो लागिरहेकाे छैन, त्यति कर्णप्रिय सुनिरहेको छैन,’ उनले गृहजिल्ला पाँचथरकाे तुम्बेवामा आयाेजित अध्यक्ष कप फुटबल प्रतियाेगिताकाे समापन समाराेहमा बिहीबार भने ।
उनका अनुसार संसदमा प्रतिपक्षले उठाएका विषयलाई बालेन सरकारसम्म पुर्याउन सभामुख असफल हुँदा सदनभित्र प्रतिपक्षमा रहेका दलहरुकाे असन्तोष बढिरहेकाे छ ।
उनले श्रम संस्कृति पार्टीले संसदमा पम्प्लेट देखाएर विराेध गर्दा सभामुख अर्यालले संसदीय मर्यादामा रहन चेतावनी दिएकाेप्रति आपत्ति जनाए । अहिले प्रतिपक्षले प्लेकार्डमार्फत असन्तुष्टि जनाउँदा त्यसलाई अमर्यादित भनिनु असंगत र खेदजनक भएकाे उनकाे भनाइ छ ।
‘हिजो प्रतिपक्षमा हुँदा तत्कालीन सांसद, वर्तमान सभामुख, उहाँहरु पनि वेलमा पुग्नुहुन्थ्यो, नीलो स्कार्फ लगाएर आन्दोलन गर्नुहुन्थ्यो, वेलमा बसेर किताब पढेकोजस्तो गरेर अवरोध गर्नुहुन्थ्यो। त्यतिबेला संख्या २१ थियो,’ उनले भने, ‘त्यसबेला उचित लागेकाे त्याे गतिविधि आज प्रतिपक्षले आफ्ना असन्तुष्टि प्लेकार्डमार्फत राख्दा अमर्यादित कसरी हुन्छ? यो अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण हो ।’
आङ्देम्बेले सरकारको कार्यशैलीप्रति पनि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले भने, ‘दुई तिहाइको सरकार केटाकेटी आए, गुलेली चलाए, मट्याङ्ग्राको नास भने जस्तो नहोस्।’
उनले सरकारलाई सुरुदेखि नै प्रतिपक्षले शुभकामना दिएर सफलताको कामना गरेको स्मरण गराउँदै भने, ‘हामीले सुरुकै मितिबाट शुभकामना दिएको हो, सफलताको कामना हो। तर प्रतिपक्षले दिएका शुभकामना र राम्रो ध्येयबाट दिएका अभिव्यक्तिहरूले पनि सरकारलाई जिम्मेवार बनाउन सकेको छैन भन्ने महसुस भइरहेको छ।’
