`

नागरिक एपमा अब जन्म, विवाह र डिभोर्स प्रमाणपत्र लिंक गर्न मिल्ने

Nepal One HD ८ जेठ २०८३ ११:१७
विज्ञान-प्रविधि

काठमाडौं। नागरिक एपले सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेदसम्बन्धी प्रमाणपत्र एपमै लिंक गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । एपको नयाँ संस्करण २.०.१०० अपडेटपछि प्रयोगकर्ताले यी सेवा उपयोग गर्न सक्ने भएका छन् ।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत घटना दर्तासँग सम्बन्धित प्रमाणपत्रहरूलाई एपभित्र छुट्टै रूपमा समावेश गरिएको छ । यसका लागि होमपेजमा ‘भाइटल इभेन्ट सर्टिफिकेट्स’ नामक नयाँ सेक्सन थपिएको छ ।

यो सुविधामार्फत जन्म दर्ता प्रमाणपत्र लिंक गर्न दर्ता नम्बर र जन्ममिति राख्नुपर्नेछ । विवाह दर्ता प्रमाणपत्रका लागि दर्ता नम्बर र प्रमाणपत्र नम्बर आवश्यक पर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्न दर्ता नम्बर तथा डिभोर्स सम्पन्न भएको मिति उल्लेख गर्नुपर्नेछ ।

यससँगै नागरिक एपमा अध्यागमनसम्बन्धी सेवा पनि थपिएको छ । अब भिजिट भिसामा विदेश जाने यात्रुले विमानस्थलमा अनिवार्य भरिनुपर्ने स्वघोषणा फाराम नागरिक एपमार्फत नै भर्न सक्नेछन् ।

सरकारले भिजिट भिसासम्बन्धी प्रक्रिया सहज र व्यवस्थित बनाउन यो सेवा सुरु गरिएको जनाएको छ । यसबाट विमानस्थलमा छुट्टै काउन्टरमा गएर फाराम भर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *