अमेरिका-इरान तनाव : युरेनिय र होर्मुजको विषयमा मिलेन कुरो
एजेन्सी। अमेरिका र इरानबीच युरेनियम भण्डार र होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणलाई लिएर मतभेद जारी रहे पनि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा केही सकारात्मक संकेत देखिएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको उच्च स्तरमा संवर्द्धित युरेनियम अन्ततः अमेरिकाको नियन्त्रणमा आउने दाबी गरेका छन् । अमेरिकाले उक्त युरेनियम आणविक हतियार निर्माणमा प्रयोग हुन सक्ने आशंका व्यक्त गर्दै आएको छ भने इरानले त्यसलाई शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानलाई युरेनियमको स्वामित्व राख्न नदिने बताएका हुन् । उनले आवश्यक परे त्यसलाई नष्ट गरिने संकेतसमेत दिएका छन् ।
यता, रुबियोले होर्मुज जलडमरूमध्य प्रयोगमा शुल्क लगाउने प्रणाली लागू गरिए कूटनीतिक समाधान कठिन हुने बताएका छन् । यद्यपि उनले वार्तामा केही प्रगति देखिएको उल्लेख गर्दै आगामी केही दिन निर्णायक हुन सक्ने बताएका छन् ।
रोयटर्ससँग कुरा गरेका इरानी स्रोतका अनुसार हालसम्म कुनै औपचारिक सम्झौता भएको छैन । तर दुवै पक्षबीचका केही मतभेद कम हुँदै गएको जनाइएको छ । इरानको युरेनियम संवर्द्धन कार्यक्रम र होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रण अझै प्रमुख विवादका विषय बनेका छन् ।
तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय तेल बजारमा पनि उतारचढाव देखिएको छ । युद्ध समाधानको सम्भावनाप्रति अन्योल कायम रहँदा ऊर्जा बजार प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि इरानी स्रोतहरूले सर्वोच्च नेता मोज्तबा खामेनीले युरेनियम विदेश नपठाउन निर्देशन दिएको बताएका थिए ।
ट्रम्पले होर्मुज जलडमरूमध्यलाई अन्तर्राष्ट्रिय जलमार्ग भन्दै त्यहाँ कुनै शुल्क प्रणाली स्वीकार्य नहुने बताएका छन् । युद्धअघि विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।
अमेरिकाले पुनः सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएपछि इरानको रिभोल्युसनरी गार्ड्सले पनि आवश्यक परे क्षेत्रीय सीमाभन्दा बाहिरसम्म प्रतिकार गर्ने चेतावनी दिएको छ ।
छ साताअघि कमजोर युद्धविराम लागू भएयता युद्ध अन्त्यका लागि भएका वार्तामा उल्लेख्य प्रगति हुन सकेको छैन । यसबीच पाकिस्तानका सेना प्रमुख असीम मुनिर थप छलफलका लागि तेहरान जान सक्ने बताइएको छ ।
पाकिस्तानका गृहमन्त्री सैयद मोहसिन नक्वीले हालै तेहरान भ्रमण गर्दै इरानी राष्ट्रपति मसुद पेजेशकियन र विदेशमन्त्री अब्बास अराक्चीसँग भेटवार्ता गरेका थिए ।
यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो द्वन्द्वले विश्वव्यापी ऊर्जा संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार पछिल्लो २४ घण्टामा होर्मुज जलडमरूमध्यबाट ३१ जहाज मात्र गुज्रिएका छन् ।
ट्रम्प र बेन्जामिन नेतन्याहुले इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र क्षमता र इरान समर्थित समूहहरूमाथि नियन्त्रण आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । तर इरानले अझै पनि उच्च स्तरको युरेनियम भण्डार, क्षेप्यास्त्र तथा ड्रोन क्षमता कायम राखेको बताइएको छ ।
