`

युरेनियम अमेरिका नपठाउन सर्वोच्च नेता खामेनेईको आदेश

Nepal One HD ८ जेठ २०८३ १४:५०
अर्थ समाचार

एजेन्सी। इरानका सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनेईले उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम विदेश नपठाउन निर्देशन दिएका छन् । यो निर्णय अमेरिकाले इरानलाई आफ्नो युरेनियम भण्डार बाहिर पठाउनुपर्ने मागप्रति प्रतिरोधका रूपमा आएको बताइएको छ ।

सार्वजनिक विवरणअनुसार खामेनेईको निर्देशनपछि तेहरानले युरेनियम भण्डारणसम्बन्धी आफ्नो अडान अझ कडा बनाएको छ । इरानी नेतृत्वबीच पनि समृद्ध युरेनियम देशबाहिर नपठाउने विषयमा सहमति बनेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उच्च स्तरको समृद्ध युरेनियम राख्न नदिने बताएका छन् । उनले अमेरिका यस विषयमा आफ्नो उद्देश्यमा सफल हुने दाबी पनि गरेका छन् ।

इजरायली अधिकारीहरूले ट्रम्पले इरानको समृद्ध युरेनियम देशबाहिर पठाइने आश्वासन दिएको बताएका छन् । सम्भावित शान्ति सम्झौतामा पनि यो विषय प्रमुख सर्तका रूपमा राख्न इजरायलले चाहेको उल्लेख छ ।

इरानी अधिकारीहरू भने युरेनियम विदेश पठाइएमा भविष्यमा अमेरिका र इजरायलबाट हुन सक्ने आक्रमणविरुद्ध देश कमजोर हुने चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले भण्डार देशभित्रै सुरक्षित राख्ने निर्णय गरिएको बताइएको छ ।

रिपोर्टअनुसार युद्धविराम लागू भए पनि शान्ति वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन । अमेरिकी नाकाबन्दी र होर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रणका कारण वार्ता अझ जटिल बनेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २०२५ जुनसम्म इरानसँग करिब ६० प्रतिशतसम्म समृद्ध गरिएको ४४० दशमलव ९ किलोग्राम युरेनियम रहेको थियो । उक्त सामग्रीको ठूलो हिस्सा इस्फहान र नतान्ज आणविक केन्द्रमा रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *