परराष्ट्रको दाबी : भारतले नेपाली चिया निर्यातको अवरोध हटायो
काठमाडौं। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण प्रभावित भएको नेपाली चिया निर्यात कूटनीतिक पहलपछि सहज बनेको बताए ।
उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासीमा देखिएको समस्या समाधान भएको हो ।
यसैबीच, नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौंमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् ।
त्यसैगरी नेपालले नर्वे र स्विट्जरल्यान्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमावर्ती क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ, जसमध्ये पछिल्लो दुई सातामा ७१ जना उद्धार गरिएको बताइएको छ ।
प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीका लागि कानुनी सहायताको पहल भइरहेको छ भने म्यानमारमा कैद नेपालीहरूको उद्धारका लागि कूटनीतिक प्रयास जारी छ ।
यसैबीच, विदेशमा रहेका नेपालीलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।
राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै मन्त्रालयले असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने जनाएको छ । हाल राहदानी सेवा नियमित सञ्चालनमै रहेको पनि स्पष्ट पारिएको छ ।
संक्रमणकालीन अवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।
