पूर्वसूचना बिना सवारी दर्ता रोकिँदा लगानी जोखिममा परेको चेम्बरको चेतावनी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पूर्वसूचना बिना सवारी साधनको दर्ता रोकिँदा लगानी जोखिममा परेको बताएको छ ।
अटोमोबाइल आयातकर्ता तथा व्यवसायीहरूसँग कुनै पूर्व सूचना, छलफल वा समन्वय नगरी हठात् रूपमा सार्वजनिक सवारी साधन दर्ता रोक्का गर्ने निर्णय गरिँदा लगानी प्रभावित भएको चेम्बरको भनाइ छ ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर एलसी खोली आयात गरिएका सयौँ सवारी साधन अहिले भन्सार प्रक्रिया पूरा भइसकेको वा पूरा हुने चरणमा रहेको उल्लेख गरिएको छ । केही सवारी ट्रान्जिटमा रहेका तथा केही उत्पादन कम्पनीबाट निर्माण भई पठाइसकिएको अवस्थामा रहेको पनि जनाएको छ ।
सार्वजनिक यातायात सेवाका लागि आयात गरिएका ती सवारी साधन अन्य क्षेत्रमा प्रयोग हुने सम्भावना न्यून रहेको भन्दै यस्तो अवस्थामा दर्ता रोकिँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिइएको छ ।
चेम्बरका अनुसार यसले अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरूसँग नेपाली व्यवसायीहरूको विश्वसनीयतामा नकारात्मक असर पार्ने र देशको व्यावसायिक प्रतिष्ठा तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा दीर्घकालीन प्रभाव पर्न सक्नेछ ।
कोभिड–१९ महामारीका बेला पनि अचानक सवारी आयात रोकिँदा नेपाली व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा विश्वास गुमाएको स्मरण गर्दै चेम्बरले पुनः त्यस्तै अवस्था दोहोरिन सक्ने जोखिम औंल्याएको छ ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार यो निर्णयले सार्वजनिक यातायात सेवा, रोजगारी, अटोमोबाइल व्यवसाय, बैंकिङ क्षेत्रको लगानी तथा सरकारी राजस्वमा समेत प्रत्यक्ष असर पार्न सक्नेछ ।
