कहाँ छन् देउवा ?
काठमाडौँ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिङ्गापुर प्रस्थान गरेका थिए । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएपछि उनी फलोअप उपचारका लागि फागुन १४ गते सिङ्गापुर गएका हुन् । तर, तीन महिना बितिसक्दा पनि उनी स्वदेश फर्किएका छैनन्, र कहिले फर्किन्छन् भन्ने कुनै टुंगो छैन।
सिङ्गापुरबाट नेपाल नफर्की देउवा अहिले हङकङ पुगेका छन् । पूर्वपरराष्ट्रमन्त्री तथा उनकी पत्नी डा. आरजु राणा यसअघि नै भारत हुँदै हङकङ पुगेकी थिइन् । देउवा दम्पती निकट स्रोतका अनुसार उनीहरूको तत्काल नेपाल फर्किने सम्भावना न्यून देखिएको छ ।
यसबीच, प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिकको मत ल्याउँदै सरकारको नेतृत्व गरिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । यही कारण उनीहरू तत्काल स्वदेश फर्किने अवस्थामा नरहेको बताइन्छ ।
नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई पत्राचार गरे पनि इन्टरपोलले प्रक्रिया नमिलेको भन्दै नोटिस जारी गर्न अस्वीकार गरेको छ ।
यदि जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार नढलेको भए आगामी असारमा देउवा पुनः प्रधानमन्त्री बन्ने तयजस्तै थियो । २०८१ असार १७ गते देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सातबुँदे सहमतिअनुसार आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको थियो । सोही सहमतिअनुसार असार ३१ गते ओली दुई वर्षका लागि प्रधानमन्त्री बनेका थिए भने २०८४ सालको आवधिक निर्वाचन गराउने चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति थियो ।
तर, गत भदौमा भएको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढाल्यो । आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओली सेनाको सुरक्षा घेरामा बालुवाटार छाड्न बाध्य भएका थिए भने देउवा दम्पती आफ्नै निवासमा आक्रमणमा परेका थिए । आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण संरचनामा समेत क्षति पुगेको थियो ।
आन्दोलन साम्य भएपछि देउवाले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका थिए । त्यसपछि उनी उपचारका लागि असोज २८ गते सिङ्गापुर प्रस्थान गरेका थिए ।
