`

उपल्लो डोल्पामा फोरजी सेवा सुरु

Nepal One HD ९ जेठ २०८३ १३:३७
विज्ञान-प्रविधि

काठमाडौं । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियो प्रविधिमार्फत सेवा सुरु गरिएको हो।

यससँगै देशभर फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ। माथिल्लो डोल्पामा फोरजी सेवा विस्तार गरिएको यो पहिलो साइट हो।

हाल डोल्पाको डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने फोरजी सेवा पुग्न बाँकी छ। नेपाल टेलिकमले निकट भविष्यमा ती क्षेत्रमा पनि सेवा विस्तार गर्ने जनाएको छ।

फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुने, साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य र शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। दुर्गम हिमाली क्षेत्रलाई डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

‘राष्ट्रको सञ्चार’का रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *