`

मधेसमा बढ्दै कुपोषणको समस्या

Nepal One HD ९ जेठ २०८३ १४:५१
जीवनशैली/स्वास्थ्य

जनकपुर। मधेस प्रदेशमा कुपोषण, रक्तअल्पता तथा मातृ–शिशु स्वास्थ्य सूचकहरू अत्यन्तै चिन्ताजनक अवस्थामा पुगेका छन्। कुल प्रजनन दर २.७ रहेको प्रदेशमा २३.४ प्रतिशत जन्म स्वास्थ्य संस्थाबाहिर हुने गरेका छन् भने ७६.६ प्रतिशत मात्र संस्थागत प्रसूति हुने गरेको देखिन्छ।

मातृ मृत्युदर पनि उच्च छ। देशभर प्रतिलाख जीवित जन्ममा १५१ महिलाको मृत्यु हुनेमा मधेसमा यो दर १४० रहेको तथ्यांकले देखाएको छ।

पाँच वर्षमुनिका बालबालिकामा कुपोषण व्यापक छ। प्रदेशमा २ लाख ७ हजारभन्दा बढी बालबालिका पुड्कोपनको समस्याबाट प्रभावित छन्, जुन देशमै सबैभन्दा बढी हो। ख्याउटेपनका साथै अधिक तौलको समस्या पनि देखिएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ देखि ५९ महिनाका बालबालिकामध्ये ५०.६ प्रतिशतमा रक्तअल्पता छ भने १५ देखि ४९ वर्षका ५२ प्रतिशत महिलामा पनि यही समस्या देखिएको छ।

विशेषज्ञहरूका अनुसार अव्यवस्थित खानपान, जनचेतनाको कमी, सीमित पोषण कार्यक्रम तथा कमजोर कार्यान्वयनले समस्या बढाएको हो।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म कुपोषण घटाउने लक्ष्य भए पनि वर्तमान अवस्था चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय तहबीच समन्वय कमजोर रहेको सरोकारवालाहरूको भनाइ छ।

पोषणविद्हरूले स्तनपान अभ्यास, विविध आहार र सचेतना अभावलाई प्रमुख कारणका रूपमा औंल्याएका छन्। मधेसमा पूरक आहार, स्तनपान र बाल पोषण अभ्यास कमजोर रहेको तथ्य पनि सार्वजनिक भएको छ।

सरकार र सरोकारवालाहरूले दीर्घकालीन नीति, समन्वय र प्रभावकारी कार्यक्रममार्फत मात्र समस्या समाधान सम्भव हुने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *